कला/साहित्यशनिवार, श्रावण १२, २०७५

सन्तान नहुनेलाई सल्लाह

हिमालखबर

डा. अरुणा उप्रेती

सन्तान नहुँदा श्रीमतीलाई मात्र दोष दिने श्रीमान् पनि सम्झाएपछि आफ्नो उपचार गर्न तयार रहेको कथा पुस्तकमा छन् ।

झण्डै आठ वर्षअघि अछामको कमलबजारस्थित एक होटलमा बस्दा मसँगै होटलधनीकी छोरी कमला (२५) पनि थिइन् । उनकी दुई महीनाकी छोरीसहित हामी ठूलो खाटमा सुतेका थियौं । केहीबेरमै कमलाले फुल्याउनै नसक्ने गरी सानी छोरी रुन थाली । मैले भनें “नानीलाई चिसो भयो होला ! अलिकति तातोपानी सिसीमा राखेर नानीको नजिक राख्ने हो भने न्यानो होला ।” 

त्यहाँ ‘हट वाटर बोतल’ रहेछ, तातोपानी सहितको उक्त बोतल नजिक राखेपछि नानी निदाई । नानीको रुवाइबाट दुःखी भएकी कमलाको मुहारमा मुस्कान आयो ।

त्यसलगत्तै कमलाका श्रीमान्‌ले फोन गरेर नानीको स्वास्थ्यबारे बुझे । उनले छोरीको निकै चिन्ता गरेको सुनेपछि मैले कमलालाई सोधें, “नानीका लागि किन तपाईंहरू यति धेरै चिन्तित हुनुभएको ? बच्चाहरु रोइहाल्छन् नि !”

कमलाले भनिन्, “हाम्रो विवाह भएको ६ वर्षसम्म सन्तान भएनन् । एक वर्षअघि काठमाडौं गएर डा. उमा श्रीवास्तवबाट उपचार गरी जन्माएको हुनाले हामीलाई यो छोरीको धेरै माया लाग्छ । मेरो दुईचोटि उपचार भयो । मसँगै उपचार गराइरहेका चार जनाको त तीन–चार चोटि उपचार गर्दा पनि गर्भ रहेको छैन ।” मैले भनें, “डा. उमा त मेरी साथी हुन् । उसको काम एकदम राम्रो छ ।”

काठमाडौं फर्केपछि मैले डा. उमालाई भनेकी थिएँ, “तिमीले उपचार गरेर जन्मिएकी नानीलाई हेरेर आएँ । तिमीसँग यस्ता केस त धेरै होलान् । उपचारबारे सफलता र असफलताको कथा समेटेर किताब लेख, राम्रो हुन्छ ।”

आज आठ वर्षपछि मेरो हातमा उमाको सन्तान सुख पुस्तक छ । यो पुस्तक एक डाक्टरको कठोर परिश्रमको कथा हो नै, सँगै यसले नेपाली समाजको लैंगिक विभेद पनि देखाएको छ । पुस्तकमा सन्तान नहुँदा महिलालाई मात्र दोष लगाउने, सन्तान नभएको बहानामा महिलालाई अनेक प्रताडना दिएर मानसिक रोगी बनाउने, उपचार गरेर सन्तान भए पनि छोरै हुनुपर्ने चाहना राख्ने परिवारको पनि कथा समेटिएको छ ।

सन्तान नहुँदा श्रीमतीलाई मात्र दोष दिने श्रीमान् पनि कुरा बुझेपछि आफ्नो उपचार गर्न तयार रहेको कथा पुस्तकमा छन् । एक श्रीमान्को वीर्यमा शुक्रकीट रहेनछ । तीन वटी विवाह गर्दा पनि सन्तान नभएपछि उनी डा. उमाको क्लिनिकमा पुगेछन् । उनकी जेठी श्रीमतीले ‘बाँझी’ भन्ने अपमान सहन नसकेर आत्महत्या गरेको, अर्की श्रीमती बच्चा नभएको चिन्तामा ‘डिप्रेसन’ भएर घर छाडेको कुरा पनि डा. उमालाई थाहा भयो ।

ती पुरुषलाई कुरा बुझाएर उनकी कान्छी श्रीमतीले अरुको शुक्रकीटबाट बच्चा जन्माइन् । उमा लेख्छिन्, “पतिको शुक्रकीट नभएर महिलाले आत्महत्या गर्नुपर्ने अवस्था ज्यादै विडम्बनापूर्ण हो ।”

सन्तान नहुनुमा दम्पती दुवैको भूमिका बराबर हुने भए पनि सम्पूर्ण दोष महिलालाई दिइने परम्परावादी सोच समाजमा अझै हावी रहेको उमाको किताबले प्रष्ट्याउँछ । 

‘बाँझी महिला, बाँझी आइमाई’ भन्ने हाम्रो समाजमा ‘बाँझो पुरुष’ भनेको सुनिंदैन । सन्तान नहुनुमा पुरुषको पनि समस्या हुनेबारे हाम्रो समाज अनभिज्ञ छ भने कतिले ‘मर्दपनको ढोंग’ बोकेर यस्तो कुरा बुझ्न पनि चाहँदैनन् ।

डा. उमाको पुस्तकले सन्तान नहुनुमा महिलाको मात्रै नभएर पुरुषको पनि समस्या हुने प्रष्ट्याएको छ । उनले उपचारपछि सन्तान जन्माउनेको कथा मात्रै नभएर उपचार असफल भएका कथा पनि पुस्तकमा समेटेकी छन् । उपचार असफल हुँदा आफैंलाई ‘डिप्रेसन’ भएको कुरा पनि उमाले लुकाएकी छैनन् ।

डा. उमा श्रीवास्तव ।

अनियमित महीनावारीका कारण प्रजनन् स्वास्थ्यमा समस्या आएकी एक महिलालाई हर्मोनको सुई दिएर आठ वर्षपछि मात्र गर्भ रहेको कुरा बताउँदै उमा लेख्छिन्, “विवाहअघि महीनावारीमा समस्या छ भने डाक्टरसँग परामर्श लिनुपर्छ ।”

वंशानुगत रुपमै समस्या भएर, महिलाको पाठेघरमा डिम्बको विकास नभएर वा पाठेघर राम्रोसित विकसित नभएको अवस्थामा कहिलेकाहीं उपचार सफल नहुने पनि पुस्तकमा उल्लेख छ ।

एक जना युवतीलाई मोटोपनको कारण पाठेघर र डिम्बमा असर परेको रहेछ । औषधि दिएर महिला गर्भवती भइन् । तर, उनको तौल बढेर ११९ किलो पुगी सास फेर्नै समस्या भएछ । आमा र बच्चा दुवैको ज्यान खतरामा भएकाले ३४ हप्तामै शल्यक्रिया गरेर दुई केजीको बच्चा निकालियो । त्यसैले मोटोपनमाथि ख्याल गर्नुपर्ने डा. उमा बताउँछिन् । मोटोपन कम गर्न खानपिनमा ध्यान दिनुका साथै योग–व्यायाम गर्नुपर्नेमा उमाले जोड दिएकी छन् ।

सन्तान होस् भनेर समाजमा कस्ता–कस्ता प्रपञ्च रचिन्छन् भन्ने पनि पुस्तकमा उल्लेख गरिएको छ । छोराको शुक्रकीट नभएपछि वंश चलाउन एक ससुराले आफ्नै वीर्य प्रयोग गरेर बुहारीले बच्चा जन्माउनुपर्ने बताउँछन्, तर डा. उमाले अस्वीकार गर्छिन् । पैसाको धाक देखाएर उनले “जति पैसा लागे पनि दिन्छु, तर मेरो वंशको सन्तान हुनुपर्छ” भनेपछि उमाले “म त्यस्तो गर्न सक्दिनँ” भन्छिन् । तीन वर्षपछि ती दम्पती उमाकहाँ आएर अन्य दाताबाट वीर्य लिएछन् र सन्तान भएछ ।

एक आँखा नदेख्ने दम्पती सन्तान नभएको भन्दै उपचारका लागि उमाकहाँ आएछन् । केही समय परामर्शपछि ती दम्पतीलाई सन्तान भएछ । परामर्श मात्रले पनि कतिपयलाई सन्तान भएको उमाले लेखेकी छन् । आजकाल ‘परामर्श’ दिने इच्छा प्रायः स्वास्थ्यकर्मीले राखेको पाइँदैन ।

स्वास्थ्यकर्मीको बोली–वचन, हाउभाउ र व्यवहार पनि उपचारमा महत्वपूर्ण हुने किताबका कतिपय घटनाले पुष्टि गर्छन् । उमाले आफूले उपचार गर्ने पद्धतिमा पनि समस्या हुनसक्ने स्वीकारेकी छन् ।

पुस्तकको दोस्रो भागमा डा. उमाले आफ्ना वैयक्तिक अनुभव पनि समेटेकी छन् । उपचारपछि गर्भ रहँदा पनि छोरी भए गर्भपतन गर्ने कतिपयको मानसिकता देखेर खिन्न बनाउँछ, लेखिकालाई ।

तराईका एक निसन्तान दम्पतीको उपचारपछि पत्नीलाई गर्भ रहन्छ, यो कुरा सुनाउँदा दम्पती दुवैले प्रश्न गरेछन्– “छोरा कि छोरी ?” उमाले भनिछन्, “हामीले छोराछोरी के छ भनेर हेर्दैनौं ।”

तर, ती दम्पतीले अरु डाक्टरबाट जँचाएर आएछन् । उमाले ती दम्पतीलाई बेस्सरी झपारिछन् । पुस्तकमा आफ्नो सन्तान नभए ‘धर्मपुत्र’ पाल्ने सल्लाह पनि दिइएको छ ।

प्रतिकृया दिनुहोस