इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने बाटोतर्फ
इस्लामाबाद (एजेन्सी)– क्रिकेटरबाट राजनीतिमा उत्रिएका पाकिस्तानका पूर्व कप्तान इमरान खान देशको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्री बन्ने अभियान नजिक छन्। सन् १९९२ मा पाकिस्तानलाई आफ्नो नेतृत्वमा विश्वकप क्रिकेटको उपाधि दिलाएका इमरान त्यसपछि राजनीतिमा होम्मिएका थिए।
पाकिस्तानमा गत बुधबार सम्पन्न आम निर्वाचनको मतगणना चलिरहँदा उनको पार्टी ताहरिक–ए– इन्साफले गतिलो अग्रता लिएको छ र आजसम्म निर्वाचनको सम्पूर्ण मत परिणाम बाहिरिने बताइएको छ।
२ सय ७२ सिटका लागि भएको निर्वाचनमा इमरानको पार्टी बहुमततर्फ अगाडि बढेको विदेशी समाचार संस्थाहरूले जानकारी दिएका छन्। भ्रष्टाचारको आरोपमा जेल सजाय भोगेका पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (नवाज) ले निर्वाचनमा धाँधली भएको आरोप लगाएको छ।
तर, निर्वाचन आयोगले यसको खण्डन गर्दै निर्वाचनमा कुनै धाँधली नभएको स्पष्ट पारेको छ। निर्वाचनको मत गणना ढिलो सुरु भएपछि यसलाई लिएर पार्टीहरूले विरोध जनाएका थिए। निर्वाचन आयोगका प्रमुख आयूक्त सरदार राजा खानले प्राविधिक कारणले मत गणना ढिलो हुन गएको भन्दै यसमा आशंका नगर्न सबैलाई अपील गरेका थिए।