देशबाट गरीबी निमिट्यान्न पार्छुः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई गरीबीबाट मुक्त बनाउने अभियानमा लागेको बताएका छन् ।
आज सामान्य प्रशासन समुहका नवनियुक्त अधिकृतहरुलाई ललितपुरको जावलाखेलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको अभियानमा साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने– “हाम्रा पूर्खा विद्वान थिए । त्यस्ता पूर्खाका सन्तान हामी अझै गरीबीमै छौं ।” मुलुकलाई गरीबीबाट मुक्त गर्ने उपाय आर्थिक विकास र उत्पादन भएको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्रीले मुलुक समृद्धि र विकासको पथमा हिडेकाले कर्मचारीहरु पनि नयाँ सोच र विचारका साथ अगाडि बढ्नुपर्ने बताए । उनले भने– “देश संघीय संरचनामा अगाडि बढेको छ, अब कर्मचारीहरुले पनि पुरानो सोच बदल्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले पारदर्शी र इमान्दारीपूर्वक जनताको सेवामा लाग्न पनि कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।