रिपोर्टबिहिवार, श्रावण १०, २०७५

प्रदेश–५ः सिकलसेल एनिमियाबाट थारू समुदायको आधा जनसंख्या प्रभावित

दीपक ज्ञवाली

प्रदेश–५ सरकारले हालै गराएको अध्ययनबाट यो प्रदेशका थारू समुदायको आधाभन्दा बढी जनसंख्या सिकलसेल एनिमियाबाट प्रभावित भएको पाइएको छ ।

लुम्बिनी अञ्चल अस्पतालको साँघुरो कुनामा सञ्चालित सिकलसेल परीक्षण गर्ने मेशीन । तस्वीरः दीपक ज्ञवाली

लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा पछिल्लो दुई साताको अवधिमा सिकलसेल एनिमिया रोगको आशंकामा रक्त परीक्षण गरिएका सात जनामध्ये तीन जनामा यो रोग देखियो । रूपन्देही र नवलपरासीका यी बिरामीहरू शरीर दुख्ने र तौल घट्ने भएपछि जँचाउन अस्पताल आएका थिए । बुटवलमा सिकलसेलको परीक्षण शुरू भएको दुई साताभित्रै शंका लागेर परीक्षण गरिएका सातमध्ये तीन जनामा यो रोग देखिनुले यसको भयावह अवस्था पुष्टि गरेको छ । 

नेपालमा अहिलेसम्म सिकलसेल थारू समुदायमा मात्रै देखिएको छ । यो रोगको परीक्षण गर्ने प्रयोगशाला लुम्बिनी अञ्चल अस्पतालमा सञ्चालनमा आउनुअघि प्रदेश–५ को भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा मात्रै थियो ।

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. उमाशंकरप्रसाद चौधरी भन्छन्, “आजसम्म यो रोगको परीक्षण नहुँदा कति जना पीडित भए, रोग पत्ता नलाग्दा कति जनाको घरबार सकियो जस्ता थारू समुदायको पीडा सार्वजनिक हुनै बाँकी छ ।” सिकलसेलका बिरामीलाई अस्पतालमा निःशुल्क औषधि दिइने व्यवस्था भए पनि अहिलेसम्म रोग पत्ता लगाउने प्रविधिको अभावमा अधिकांश अस्पतालबाट बिरामीले त्यस्तो सेवा लिनसकेका छैनन् ।

लुम्बिनी अञ्चल अस्पतालमा एक वर्षअघि नै ‘सिकलसेल एनिमिया’ परीक्षण गर्ने प्रविधि भित्र्याइए पनि दक्ष प्राविधिक नहुँदा सञ्चालनमा आउन सकेको थिएन । अस्पतालका सूचना अधिकारी लक्ष्मीराज रेग्मी अहिले प्राविधिकको व्यवस्था भए पनि स्थानाभावमा मेशीनलाई व्यवस्थित रूपमा राख्न नसकिएको बताउँछन् ।

विशेष कार्यक्रम
थारू समुदायको सघन बसोबास रहेको प्रदेश–५ को आधाभन्दा बढी थारू जनसंख्या सिकलसेल एनिमियाबाट प्रभावित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. चौधरी बताउँछन् ।

पढ्नुहाेस् ।

सिकलसेलः पश्चिम तराईको रोग

सिकलसेल यो प्रदेशको सबैभन्दा ठूलो स्वास्थ्य समस्या रहेको ठहर गर्दै प्रदेश सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर काम थालेको सामाजिक मामिला मन्त्री सुदर्शन बराल बताउँछन् । “सरकार गठनलगत्तै सिकलसेलको अध्ययन र रोकथामका लागि विशेष कार्यक्रम सञ्चालन गरेका छौं”, मन्त्री बराल भन्छन् । उनका अनुसार सिकलसेलको प्रभावबारे अध्ययन र रोकथामका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममै रु.१ करोड विनियोजन गरेको छ । उक्त अध्ययनको प्रतिवेदन चाँडै सार्वजनिक हुने सामाजिक मामिला मन्त्री बराल बताउँछन् ।

मन्त्रालयले स्वास्थ्य महाशाखाका कविराज निरीक्षक गणेश भट्टराईको संयोजकत्वमा ८ असारमा गठन गरेको अध्ययन टोलीले थारू बहुल प्रदेशका ६ वटै जिल्लामा अध्ययन सकेर अन्तिम प्रतिवेदन तयार पारिरहेको छ ।

अध्ययन अनुसार प्रदेशका १२ जिल्लामध्ये बाँके, बर्दिया, दाङ, रूपन्देही, नवलपरासी र कपिलवस्तु गरी ६ जिल्लामा सिकलसेल एनिमियाकोे समस्या देखिएको छ । यी ६ जिल्लामध्ये सबैभन्दा बढी संक्रमण बाँके, बर्दिया र दाङमा छ । सिकलसेल एनिमियाको समस्या समाधानमा स्थानीय, प्रदेश र केन्द्र तीनवटै सरकारबीच समन्वय हुनु जरूरी रहेको डा. चौधरी बताउँछन् ।

उनका अनुसार विधिवत् रूपमा अध्ययन प्रतिवेदन आइनसके पनि अध्ययनबाट सबै जिल्लामा सिकलसेलको प्रारम्भिक उपचारको व्यवस्था गरिनुपर्ने र बढी प्रभावित ६ वटा जिल्लामा प्रयोगशाला स्थापना गर्नु आवश्यक देखिएको छ ।

के हो सिकलसेल ?
चिकित्सकहरूका अनुसार सिकलसेल एनिमिया रक्तकोषमा आउने समस्या हो । वंशाणुगत कारणले हुने यो रोग मलेरिया प्रभावित क्षेत्रका मानिसमा बढी देखिन्छ । सिकलसेल एनिमिया भएपछि गोलो आकारमा हुने रक्तकोष हँसिया (सिकल) आकारको बन्छ । यो रोग आमाबाबु दुवैमा भए सन्तानमा पनि देखिने धेरै सम्भावना हुन्छ ।

व्यक्ति अनुसार फरक–फरक लक्षण देखिने भए पनि सिकलसेल भएमा सबैभन्दा पहिले रक्तअल्पता हुन्छ र स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छ । नेपालका थारू समुदायमा मात्रै देखिएको भनिए पनि विस्तारै अन्यमा समेत यो रोग फैलिन सक्ने डा. चौधरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस