‘स्पट फिक्सिङ’ मा आफ्नो नाम जोडिएपछि म्याक्सवेलको आपत्ति
मेलबर्न (एजेन्सी)– अस्ट्रेलियाका आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले आफ्नो नाम ‘स्पट फिक्सिङ’ मा जोडिएकोमा आपत्ति जनाएका छन्। टिभी च्यानल ‘अल जजीरा’ ले हालै जारी गरेको एउटा डकुमेन्ट्रीमा ‘स्पट फिक्सिङ’ मा अस्ट्रेलियाली खेलाडीको संलग्नतालाई देखाइएको थियो।
यसमा म्याक्सवेलको नाम समावेश नगरिएपनि फुटेज प्रयोग भएपछि म्याक्सवेलले असन्तुष्टी पोखेका हुन्। ‘इएसपिएन क्रिकइन्फो’ ले दिएको रिपोर्टअनुसार म्याक्सवेलले इन्डियन प्रिमियर लिग (आइपिएल) मा भ्रष्टाचार विरोधी अधिकारीलाई मैदानमा हुने गरेको शंकास्पद चलखेलको सूचना दिएको बताइएको छ।
‘अल जजीरा’ ले २०१७ मा भारतविरूद्ध राची टेस्टमा अस्ट्रेलियाली खेलाडी ‘स्पट फिक्सिङ’ मा समावेश भएको बताएको छ। यो टेस्टमा म्याक्सवेलले शतक बनाएका थिए। ‘स्पट फिक्सिङ’ को विषयमा ‘अल जजीरा’ को खोजीमूलक डकुमेन्ट्रीपछि म्याक्सवेलमाथि पनि प्रश्न उठेको छ।