म्यानमारलाई सुरक्षा परिषद्काे आग्रह– रोहिंग्या समस्या तत्काल समाधान गर
संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले रोहिंग्या समस्या समाधानका लागि म्यानमार सरकारलाई आग्रह गरेको छ।
म्यानमारको अल्पसंङ्ख्यक जातीय समूहमाथि म्यानमारको सेनाले ज्यादति गरेपछि बहुसंख्यक रोहिंग्याले देश छोडेर बङ्गलादेशमा शरण लिएका थिए।
गत अगष्टदेखि बङ्गलादेशको कोक्स बजारमा शरणार्थी जीवनयापन गरिरहेका रोहिंग्याको सङ्ख्या करिब सात लाख पुगेको बताइएको छ।
उनीहरुलाई स्वदेश फर्काउने विषायमा बङ्गलादेश र म्यानमार बीच कैयौँ पटक बैठक भइसकेको छ। तर, त्यसले सार्थकता पाउन सकेको छैन।
पन्ध्र सदस्यीय परिषद् बैठकले रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काउन म्यानमार सरकारलाई चाँडो प्रयास गर्न आग्रह गरेको हाे। साथै बङ्गलादेशमा अप्ठेरो अवस्थामा जीवनयापन गरिरहेका शरणार्थीको सहायताका लागि पनि परिषदले आग्रह गरेको छ।
उनीहरुलाई आधारभू्त आवश्यकताको लागि सहयोग गर्न र विनाशर्त स्वदेश फर्काउने वातावरण निर्माण गर्न पनि सुरक्षा परिषद्ले आग्रह गरेको छ।
बैठक सम्पन्नपछि जारी वक्तव्यमा भनिएको छ– म्यानमारमा सेनाले अल्पसङ्यक नागरिकमाथि गरिएको ज्यादतिको अनुसन्धान गरी दोषीमाथि कारबाही गरियाेस्।
म्यानमारका लागि संयुक्त राष्ट्रसंघीय दूतले सरकार रोहिंग्यालाई स्वदेश फर्काउन सकारात्मक देखिएको बताए पनि फिर्तीका लागि ठोस पहल भएको छैन। यसअघि दुवै देशकाे मन्त्रीस्तरीय बैठकमा म्यानमार सरकारले रोहिंग्या शरणार्थीलाई देश फर्किन आग्रह गरेकाे थियाे तर उनीहरुको बसोबास रहेको स्थान राखिन राज्यका रोहिंग्यामाथि अझै ज्यादति रोकिएको छैन। त्यसैले उनीहरू बंगलादेशबाट स्वदेश फर्किन मानिरहेका छैनन्।
रासस–एएफपी