शक्ति राष्ट्रका विदेशमन्त्रीहरूको दौडधुप
त्रिपोली– शक्ति राष्ट्रका विदेश मन्त्रीहरू अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किन थालेका छन्।
फ्रान्सका विदेशमन्त्री लिबिया, रुसका विदेशमन्त्री इजरायल पुगेको र बेलायती विदेशमन्त्री चीन भ्रमणमा निस्किन लागेको समाचार संस्था एएफपीले बताइएको छ।
फ्रान्सका विदेशमन्त्री जेन भेज लि ड्रिअन लिबियाको त्रिपोली पुगेका छन्। लिबियामा हुन लागेको निर्वाचनको सन्दर्भलाई लिएर ड्रिअन त्रिपोली पुगेका हुन्। उनले लिबियाका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ।
यसैगरी रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभ देशका सेना प्रमुखसँग सोमबार इजरायल पुगेका छन्।
छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्व बारेमा छलफल गर्न उनी इजरायल पुगेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा उनको भ्रमण भएको प्रधानमन्त्री नेतान्याहुले बताए।
बेलायतका नवनियुक्त विदेशमन्त्री जेरेमी हन्ट पनि औपचारिक भ्रमणका लागि चीन जान लागेका छन्।
एएफपी–रासस