आलोचनाका बीच ओजिलले लिए फुटबलबाट सन्यास
बर्लिन (एजेन्सी)– विवादका बीच जर्मनीका चर्चित फुटबल खेलाडी मेसुट ओजिलले राष्ट्रिय टोलीबाट सन्यास लिएका छन्। टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगनसँग तस्बिर खिचाएको मुद्धालाई लिएर उनको निकै आलोचना भएको थियो।
आलोचनाबाट दिक्क भएका ओजिलले एक्कासी अन्तर्राष्ट्रिय फुटबलबाट विदा लिने घोषणा गरे। सन्यास लिनुअघि उनले सोसल मिडिया ट्वीटरमा आफ्नो भावना पोखेका थिए। जर्मनी फुटबल संघलाई बुझाएको सन्यास पत्रमा उनले फुटबल संघ र संघका अध्यक्ष तथा जर्मनी फुटबल समर्थक र मिडियाको आलोचना गरेका छन्।
उनले सबैको आलोचना गर्ने क्रममा आफ्नो सन्यास पत्रमा लेखेका छन्, ‘टर्कीमूलका मानिसहरूको विषयमा दोहोरो मापदण्ड र नस्लवादको गन्ध मिसिएको छ।’ इङ्लिस क्लब आर्सनलका यी स्टार खेलाडीले दुई महिनाअघि एर्डोगन र म्यानचेस्टर युनाइटेडका गुन्डोगनसँग खिचेको तस्बिर आफ्नो सोसल साइटमा पोष्ट गरेका थिए। जसका कारण जर्मनीका केही नेताले ओजिलको देशभक्ति प्रति प्रश्न उठाएका थिए। उनीहरूले विश्वकपमा ओजिललाई टिममा राख्नु गलत भएको टिप्पणीसमेत गर्न भ्याएका थिए।
आफूले पोस्ट गरेको तस्बिरको विषयमा ओजिलले भनेका छन्, ‘मैले आफ्नो परिवारको शीर्ष नेतालाई सम्मान व्यक्त गर्न यो फोटो सोसल मिडियामा राखेको हुँ। यसमा कुनै राजनीतिक गन्ध छैन।’ टर्कीमूलका २९ वर्षीय यी खेलाडीले अरु खेलाडी जस्तै आफ्नो वंशज पनि धेरै देशसँग जोडिएको बताए। ‘म जर्मनीमा पढे। यही हुर्किएको हुँ। तर, मेरो परिवारको पृष्ठभूमि टर्कीको हो। मेरो काम फुटबल खेल्ने हो। म राजनेता पनि होइन। त्यसैले टर्की राष्ट्रपतिसँगको भेटलाई राजनीतिक रंग दिनु अनावश्यक छ।’
ओजिलको यो भनाइबाट जर्मनी समर्थक सन्तुष्ट हुन सकिरहेका छैनन्। जर्मनीका पूर्व कप्तान र १९९० को विश्व विजेता टोलीका सदस्य लोथार म्याथसले आजिलविरूद्ध कडा टिप्पणी गर्दै भनेका छन्, ‘ओजिललाई जर्मनीको जर्सी लगाएर खेल्दा कहिल्यै सहज देखिएन।’