डा केसीलाई बहसमा आउन प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको अनशनका नाममा कांग्रेसले राजनीति खोजेको भन्दै चर्को आलोचना गरेका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डा. केसीलाई चिकित्सा शिक्षाका क्षेत्रमा सुधारबारे बहसमा आउन र चिकित्सा शिक्षा आयोगको अध्यक्ष आफैं बन्न आग्रह पनि गरे ।
"स्वास्थ्य शिक्षा क्षेत्रमा कस्तो सुधार गर्नुपर्छ तर्कपूर्ण बहस गरौं । तपाई नै जिम्मा लिनुस्, आयोग चाहिन्छ भन्नुहुन्छ तपाई नै अध्यक्ष बन्नुस्" प्रधानमन्त्री ओलीले भने । केही मानिसको अनशन र फुर्सदका बेला जुलुस निकालिएको भन्दै उनले उक्त जुलुस देशको सम्पूर्णता नभएको दाबी गरे । उनले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकमा संशोधनका लागि भने प्रतिपक्षसँग कुरा गर्न सरकार तयार रहेको पनि बताए ।
उनले भने, “प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन्, प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन् । कांग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको अनुभव देखिएन ।”
कांग्रेसले विगतमा सरकार चलाउँदा वामपन्थीलाई अनावश्यक रुपमा थुन्ने र शिक्षक कर्मचारीलाई बर्खास्त गरेको भन्दै उनले थपे, "कांग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन ।”
उनले लोकतन्त्र ल्याउन कम्युनिष्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउँदै मानवजीवनलाई सुखी बनाउन समृद्धि मात्र होइन सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको बताए ।
पुष्पलालको नेतृत्वमा विसं २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) को एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलो पटक पुष्पलाल स्मृति दिवस मनाइएको हो ।