कांग्रेसले डा केसीको अनशनका नाममा गणतन्त्र मास्न खोज्दैछ: पुष्पकमल दाहाल
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कांग्रेसले प्रा डा केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहाललेद संघीय लोकतान्त्रिक गणतन्त्रलाई कांग्रेसले प्रा डा केसी अनशनका नाममा मास्न खोजेको हो कि भन्ने आशंका पैदा भएको भन्दै थपे, “केसीले सबैभन्दा बढी लोकतान्त्रिक भनिएकै उहाँहरुको सरकारको पालामा अनशन गरेका छन् । अनि अहिले संसद्लाई निर्णय गर्न नदिएर केसीले जे भन्छन् त्यही गर्नुपर्छ भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले किन भनेका हुन् ? कतै यो प्रतिक्रान्तिको तागत बढाउन खोजिएको त होइन ?”
नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले अन्य कार्यसूची नपाएर प्रा डा गोविन्द केसीको पुच्छर लागेको आरोप लगाए ।
उनले ‘दुई तिहाइको समर्थन प्राप्त सरकारलाई काम गर्न नदिन विभिन्न बहानाबाजी र कुतर्क गरिएकाले’ अब कांग्रेसको अस्तित्व समाप्तिको दिशामा पुगेको दाबी गरे ।
उनले भने, “प्रतिक्रान्तिका तागतहरुले क्रान्ति र जनमतका उपलब्धि लाई उल्ट्याउन नियोजित षडयन्त्रस्वरुपका क्रियाकलाप भइरहेका छन् । के कांग्रेसले डा केसीलाई मारेर लाशको राजनीति गर्न चाहेको हो ? यही बुद्धि र तरिका हो भने कांग्रेस अब इतिहासको विषय बन्न धेरै बेर लाग्दैन । नेकपा एकताको अभियान चलाएर दशगुणा शक्ति लिएर आउँदैछ ।”
निर्वाचनपूर्व गत १७ असोजमा भएको वाम गठबन्धनको तालमेलदेखि आफूहरुलाई फुटाउने षड्यन्त्र भएको बताउँदै उनले अलोकतान्त्रिक र निरङ्कुश ढंगले राजनीतिक नियुक्ति भएकामा नयाँ सरकारले त्यस्ता कामलाई सच्याउँदै समृद्धि र विकासको तयारी गरिरहेको पनि दाबी गरे ।
रासस