बिपीको स्मृतिमा कांग्रेसी नेताले सरकारलाई भने– माथेमा आयोगको भावना अनुसार नै चिकित्सा विधेयक लागु गर
काठमाडौँ– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले केही स्थान हड्ताल–जुलुस गर्न निषेधित क्षेत्र घोषणा गरेर जनताको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने मौलिक अधिकार कुण्ठित गर्न खोजेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३६ औं स्मृति दिवसका अवसरमा कांग्रेस केन्द्रीय समितिद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार कुण्ठित गर्नु अप्रजातान्त्रिक र मानवाधिकारविरुद्ध हो। उनले कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने बिपीको विचार उपयुक्त भएको आफूले भर्खरै थाहा पाउन लागेको बताए।
आमरण अनशनरत प्रा. डा. गोविन्द केसीका माग सम्बोधन गर्न आफ्नो नेतृत्वको तत्कालीन सरकारले माथेमा आयोगका भावना र मर्मअनुसार नै चिकित्सा शिक्षा अध्यादेश जारी गरेको बताए। उनले तत्कालीन चिकित्सा शिक्षा अध्यादेशअनुसार नै विधेयक ल्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले बिपी विचारबाट पार्टी विचलित नभएको स्पष्ट पारे। उनले भने, ‘बिपीले परिकल्पना गरेअनुसार संविधानसभाबाट संविधान जारी भएको छ। ग्रामीण क्षेत्रको विकासका लागि २०४८ सालयता कांग्रेसले विभिन्न कार्यक्रम अघि बढाएको हाे।’
ग्रामीण क्षेत्रमा पनि गुणस्तरीय चिकित्सा शिक्षा पुगोस् भन्ने प्रा डा केसीका माग उपेक्षा गरेर सरकार दमनमा उत्रिएको आरोप पौडेलले पनि लगाए।
महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले मार्गनिर्देशन गरेको सिद्धान्त आत्मसात् गरे मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउँदै पार्टीभित्रका गुटउपगुटको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाउन नेतृत्वलाई सुझाव दिए।
पार्टी कोषाध्यक्ष सीतादेवी यादवले बिपीले देखाएको मार्ग र प्रजातन्त्रका लागि गरेका योगदान सबै कांग्रेसीजनका मनमा भएपनि बाटो बिराएर पार्टीभित्र एकले अर्कालाई हराउने प्रवृत्ति बढेकाेमा दु:ख व्यक्त गरिन्। कांग्रेस नेता गोपालमान श्रेष्ठले बिपीका सपना पूरा गर्न संविधानसभाबाट संविधान जारी गरी कार्यान्वयन गर्ने लगायत काम कांग्रेस नेृतत्वमै सफल भएको बताए।
पार्टी नेता डा रामशरण महतले बिपीले भनेझैँ कांग्रेसले मुलुकमा आर्थिक र सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको जिकिर गरे। कार्यक्रममा मुख्य सचेतक बालकृष्ण खाँण, नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, ललितपुर सभापति मदन आमात्यलगायतले आगामी दिनमा कांग्रेसलाई सशक्त रुपले अघि बढाउन एक ढिक्का हुनुपर्ने सुझाव दिए।