ताप्लेजुङमा दुई दिनदेखि विद्युत् र इन्टरनेट सेवा ठप्प
ताप्लेजुङ– जिल्लामा विद्युत् र इन्टरनेट दुवै सेवा ठप्प बनेपछि सेवाग्राही मारमा परेका छन्। शुक्रबारदेखि विद्युत् आपूर्ति बन्द भएकामा शनिबारदेखि इन्टरनेट सेवासमेत ठप्प हुँदा यहाँका बासिन्दा समस्यामा परेका हुन्।
केन्द्रीय प्रसारण लाइनअन्तर्गत पाँचथर–ताप्लेजुङ खण्डमा आएको खराबीका कारण शुक्रबारदेखि नै विद्युत् आपूर्ति भएको छैन।
इलाम क्षेत्रमा अप्टिकल फाइबरमा आएको खराबीका कारण शनिबारदेखि इन्टरनेट (एडिएसएल) सेवासमेत ठप्प छ। विद्युत् र इन्टरनेट दुई वटै सेवा बन्द भएपछि रेडियो, पत्रपत्रिकालगायत सञ्चारमाध्यमसमेत समस्यामा परेका छन्।
विद्युत् प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका अनुसार शनिबार बिहानैदेखि प्राविधिकहरु खटिए पनि खराबी पत्ता लाग्न नसकेको र दुईवटै सेवा सञ्चालन हुन समय लाग्ने देखिएको बताइएको छ।
रासस