सुन्दरीजलमा बिपीको सम्झना
काठमाडौँ– प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३६औँ स्मृति दिवस सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा मनाइएको छ।
बिपी सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रमका वक्ताले बिपीले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे। २०१७ पुस १ मा ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०२५ सालसम्म सुन्दरीजल बन्दीगृहमा राखिएको थियो।
प्रधानमन्त्री बन्नुअघि ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन गरेका कोइरालाले राजनीतिक व्यस्तताका कारण साहित्य सिर्जनामा समय दिन पाएनन्।
आठवर्षे कारागार जीवनमा कोइरालाका ‘श्वेतभैरवी’, ‘मोदीआइन’, ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’ उपन्यास, ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ आत्मजीवनी लगायत पुस्तक प्रकाशन भएका छन्। गणेशराज शर्माको सम्पादनमा बिपीको ‘आत्मवृत्तान्त’ पनि प्रकाशित छ।
स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिपीले नेपाली राजनीति र साहित्यमा पु¥याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहेको बताए। कांग्रेस महासमिति सदस्य लोकेश ढकालले बिपीलाई कारागार जीवन साहित्य सिर्जना गर्ने अवसर बनेको बताए। सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दीगृहलाई साहित्य, राजनीति र दर्शनको त्रिवेणीधामका रुपमा विकास गरिने बताए।
२०७२ वैशाख १२ मा भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालय पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। बन्दीगृहलाई २०६१ भदौ २४ मा सङ्ग्रहालयमा परिणत गरिएको थियो। सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण चिजबिजको सङ्ग्रह गरिएको छ। भूकम्पपछि ती सामग्रीलाई एउटा कोठामा राखेर पुनःनिर्माण शुरु गरिएको होे।
रासस