विश्वकप विशेषशनिबार, ५ श्रावण , २०७५

डेस्च्याम्पस् खेलाडी–प्रशिक्षक दुवैमा विश्वविजेता

ज्ञानेन्द्र आचार्य

पहिलो पटक सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा डेस्च्याम्पस् फ्रान्सका कप्तान थिए, अहिले प्रशिक्षक ।

डिडियर डेस्च्याम्पस् (कप्तान) सन् १९९८ को विश्वकपमा (बायाँ) र सन् २०१८ काे विश्वकपमा (प्रशिक्षक) ।

फ्रान्सले विश्वकप जितेपछि खेलाडी र प्रशिक्षक दुवैको भूमिकामा विश्व च्याम्पियन बन्ने ब्राजिलका मारियो जागालो र जर्मनीका फ्रान्ज बेकनबाउरसँगैको सूचीमा डिडियर डेस्च्याम्पस्को नाम पनि थपियो ।

पहिलो पटक सन् १९९८ मा फ्रान्सले विश्वकप जित्दा डेस्च्याम्पस् फ्रान्सका कप्तान थिए, अहिले प्रशिक्षक । फ्रान्सले दुवैपटक विश्वकप जित्दा टीमसँग जोडिएका उनलाई धेरैले भाग्यमानी भन्छन् । किनभने खेलाडी हुँदा होस् वा प्रशिक्षक, कुनै भूमिका निभाउँदा उनीमा त्यस्तो अद्भुत कुशलता देखिंदैन, जसले उनलाई अरुभन्दा अलग देखाओस् ।

डेस्च्याम्पस् खेलाडी (डिफेन्सिभ मिडफिल्डर) का रुपमा रहँदा फ्रान्सले विश्वकप जित्दा टीममा जिनेडिन जिदान, थियरी हेनरी, रोबर्ट पिरेस र इम्मानुहल पिट जस्ता कुशल खेलाडी थिए । टीममा उनको काम हुन्थ्यो, विपक्षीले आक्रमणका लागि बनाउने मूभमेन्टलाई सक्दो कमजोर बनाउने ।

यही भूमिकामा हाल स्पेनबाट सर्जियो बुस्केट्स र ब्राजिलमा कासामिरो खेल्छन् । जसलाई अहिलेको पुस्ताको सबैभन्दा स्किलफुल डिभेन्सिभ मिडफिल्डर भनिन्छ । डेस्च्याम्पस् यिनीहरु जतिका स्किलफुल खेलाडी होइनन्, त्यसैले इङ्गल्यान्डका एरिक क्यान्टोनाले यिनलाई पानी बोक्ने मान्छे, जसको काम पास दिने मात्रै हो भन्थे ।

डेस्च्याम्पस्मा दिइएको भूमिका राम्रोसँग निभाउन सक्ने कला थियो । उनी रणनीतिक ज्ञान भएका निकै आत्मविश्वासी खेलाडी थिए, कप्तानको भूमिकामा उस्तै पोख्त । खेलमा खेलाडीलाई कसरी हौस्याउनुपर्छ भन्ने उनलाई थाहा थियो । त्यसैले त उनी कप्तान भएलगत्तै पहिला फ्रान्स १९९६ को युरोकपमा सेमिफाइनल पुग्यो, त्यसपछि १९९८ को विश्वकप र २००० को युरोकप जित्यो ।

अहिले डेस्च्याम्पस् कुनै अद्वितीय खेल सिकाउने प्रशिक्षक होइनन्, तर जहाँ गए पनि उनको टीमले राम्रै नतिजा निकालेका रेकर्ड छन् । जस्तोः मोनाकोलाई २००४ मा च्याम्पियन्स लिगको फाइनलमा पुर्‍याउनु र स्क्यान्डलका कारण इटालीको दोस्रो डिभिजनमा घटुवा भएको युभेन्ट्सलाई एक सिजनमै सिरी ‘ए’ मा फर्काउनु । १७ वर्षसम्म केही नजितेको मार्सेलाई फ्रान्समा लिग वानको च्याम्पियन बनाउनुलाई यसअघिको उनको अद्भुत सफलता मानिन्थ्यो ।

कुनै निश्चित शैली नभएका प्रशिक्षक भनेर डेस्च्याम्पस्लाई आलोचना गर्न खोज्ने नै हो भने, यसका लागि थुप्रै खुराक भेटिन्छन् । विश्वकप टोलीमा यति कुशल खेलाडी समावेश थिए कि फ्रान्सलाई जुनसुकै शैली पनि उपयुक्त हुने देखिन्थ्यो । बल नियन्त्रणमा राखेर खेल्ने हो भने मिडफिल्डमा पल पोग्बा, ब्लेस म्याट्विडी र फरवार्डमा एन्टोइन ग्रिजम्यान र ओलिभर जिरु यसका लागि उपयुक्त खेलाडी हुन् ।

सन् २०१८ को विश्वकप फ्रान्सले जितेपछि एम्बाप्पे ।

१९ वर्षीय किलियन एम्बाप्पे र डिभेन्सिभ मिडफिल्डर एनगोलो कान्टे तीव्र गतिका लागि उपयोगी हुन सक्थे । प्रिमियर लिगमा जस्तो डाइरेक्ट र विङबाट बढी आक्रमण गर्ने शैलीका लागि पनि यिनै खेलाडी पोख्त थिए । तर, डेस्च्याम्पस्ले विश्वकपभरि कुनै एक शैली अपनाएनन् ।

प्रि–क्वार्टर फाइनलमा अर्जेन्टिना विरुद्ध विङब्याकहरु बेन्जामिन पभार्ड र लुकस हर्नान्डेजसँगै एम्बाप्पेलाई पेश गर्दा काम लाग्यो । उरुग्वे र बेल्जियम विरुद्ध आफूले गोल गरेपछि फ्रान्स अग्रता कसरी जोगाइराख्ने भन्नेमै केन्द्रित देखिन्थ्यो । फ्रान्सको खेल्ने शैलीलाई बेल्जियमका गोलकिपर थिबाउट कोर्टुवाँले एन्टी फूटबल भनेर पनि आलोचना गरे ।

उपलब्ध कुशल खेलाडीको क्षमता अनुसार आकर्षक र प्रि–फ्लोइङ अट्याकिङ खेल फ्रान्सले नखेलेको पक्कै हो । तर, फूटबलमा राम्रो खेल्ने टीमले मात्रै जित्छ भन्ने हुँदैन । यस्तो हुँदो हो त दुई वर्षअघि फ्रान्सले युरोकप सजिलै जित्नुपर्ने हो । त्यो बेला पनि प्रशिक्षक डेस्च्याम्पस् नै थिए, फ्रान्सले आकर्षक फूटबल खेलेकै थियो ।

हरेक खेलमा गल्ती कम गर्ने र पाएको मौकाको उचित सदुपयोग गर्न सक्नुपर्छ, यसपटक फ्रान्स त्यसमै अब्बल देखिएको हो । खेल्ने शैलीलाई मात्रै आधार बनाएर प्रशिक्षक डेस्च्याम्पस्को आलोचना गर्नु उचित नहोला । २०१६ को युरोकप र अहिलेको विश्वकपमा टीम तयार पार्दा उनले प्रत्येक खेलाडीलाई छुट्याएको भूमिका र त्यो भूमिकामा खेलाडीलाई फिट राख्नुलाई पनि उत्तिकै महत्वपूर्ण मानिन्छ ।

उनले दिएको भूमिका निभाउन नसक्ने कोही थिएनन् । भलै स्ट्राइकर ओलिभर जिरुले कुनै खेलमा विपक्षीको गोलपोष्टमा प्रहार गर्न पनि सकेनन्, तर हरेक खेलमा उनले देखाएको जुझारुपन टीमका अन्य खेलाडीको भन्दा कम थिएन । जिरुले गोल गर्न नसक्दा त्यो जिम्मेवारी ग्रिजम्यान र एम्बाप्पेले उठाए र महत्वपूर्ण समयमा गोल गरे ।

यसैले फ्रान्सलाई कुनै खेलमा पनि दबाब नभएजस्तो देखिएको हो । क्रोएशियाका मोड्रिचको सट्टा यदि फ्रान्सका कसैलाई गोल्डेन बल दिइएको भए, त्यसको सबैभन्दा उपयुक्त हकदार हुन्थे, एनगोलो कान्टे । उनको प्रत्येक खेल उच्चस्तरको थियो । सन् १९९८ मा डेस्च्याम्पस् जस्तै अहिलेको टीममा कान्टेले डिफेन्सिभ मिडफिल्डरको भूमिका निभाउँछन् ।

शुरुमा जम्न नसके पनि पछि–पछिका खेलमा पोग्बा पनि लयमा फर्किए । पाएको मौकामा म्याट्विडी, टोलिसो, एनजोन्जी, उस्मान डेम्बेले सबैले सक्दो राम्रो खेले । खेलाडीका व्यक्तिगत क्षमतामा भर परेको जस्तो देखिंदा पनि फ्रान्सले एकपछि अर्को बलियो टीमलाई पाखा लगाउन सक्यो ।

सबै डिफेन्डरहरूको प्रदर्शन पनि प्रशंसा गर्न लायक थियो । व्यावसायिक फूटबलमा बार्सिलोना र रियल म्याड्रिड जस्ता दुई परस्परविरोधी टीमबाट खेले पनि फ्रान्सका लागि खेल्दा सेन्टरब्याकहरु सामुएल उम्टीटी र रभाएल भरानबीच राम्रो तालमेल जमेको थियो । फाइनलमा केही गल्ती गरेको भए पनि फ्रान्सलाई त्यहाँसम्म पु¥याउन गोलकिपर ह्युगो लोरिसले राम्रो बचाउ गरेका थिए । खेलाडी हुँदा आफ्नो जिम्मेवारी राम्ररी बुझ्ने डेस्च्याम्पस्ले प्रशिक्षक हुँदा प्रत्येक खेलाडीलाई उनीहरुको जिम्मेवारी बुझाउन सके ।

गएको ५–७ वर्षमै फ्रान्सले निकै प्रतिभावान युवा खेलाडीहरु पाउनु र ठीक यसै समयमा राष्ट्रिय टीमको मुख्य प्रशिक्षकको जागिर पाउनुमा डेस्च्याम्पस्लाई भाग्यले नै साथ दिएको होला । तर ड्रेसिङ रुमभित्रको कलह र असमझदारीका कारण खराब समयबाट गुज्रिएको टीम सम्हाल्न आउनु निकै चुनौतीपूर्ण काम हो । टीममा एकता नहुँदा असफल भएको तीतो अनुभव फ्रान्ससँगै छ ।

सन् २००६ मा विश्वकपको फाइनल पुगेको फ्रान्स, २०१० मा समूह चरणमै रोकिएको थियो । २०१२ को युरोकपमा फ्रान्सले एक खेल पनि जित्न सकेको थिएन । यस्तो समयमा डेस्च्याम्पस्को पहिलो चुनौती भनेकै खेलाडीबीच एकताको भावना जगाउनु थियो । फ्रान्समा अहिले धेरै आप्रवासी मूलका खेलाडी छन् । यसले उनको जिम्मेवारीलाई झनै चुनौतीपूर्ण बनाएको हुनुपर्छ ।

यस्तो अवस्थामा अरुलाई जिम्मेवारी बुझाउन सक्ने कला डेस्च्याम्पस्लाई काम लागेको हो । राष्ट्रिय टीमका लागि खेलाडी छान्ने अधिकार मुख्य प्रशिक्षकलाई नै हुन्छ । परेको बेला डेस्च्याम्पस् यही अधिकारमा टेकेर खरो रुपमा उत्रिएका पनि छन् ।

नाम चलेका खेलाडीलाई प्राथमिकतामा राख्नुभन्दा पनि जर्सी लगाएर फ्रान्सको प्रतिनिधित्व गर्नुको सही अर्थ र जिम्मेवारी नबुझ्ने कसैलाई उनले टीममा स्थान दिएका छैनन् । अरुले जतिसुकै आलोचना गरे पनि करिम बेन्जेमा र समीर नासरी जस्ता स्टार खेलाडी राष्ट्रिय टीममा नपरेको लामो समय भइसक्यो ।

खेलाडीलाई नेतृत्वदायी भूमिका सिकाउन सक्नु डेस्च्याम्पस्को सबैभन्दा राम्रो कला हो । जसका कारण फ्रान्सको राष्ट्रिय टीममा लोभलाग्दो एकता देखिएको छ । विश्वकपका प्रत्येक कठिन खेलमा पोग्बा, लोरिस, जिरु र ग्रिजम्यान जस्ता सिनियर खेलाडीले मैदानभित्र र बाहिर नेतृत्वदायी भूमिका निभाए । यिनै सिनियर खेलाडीको उक्साहटबाटै एम्बाप्पे जस्ता युवा खेलाडीलाई ढुक्क भएर खेल्न हौसला मिलेको हो ।

फाइनलमा पनि यसैको प्रभाव देखिन्छ । पहिलो हाफमा २–१ को अग्रता बनाए पनि क्रोएशिया हावी देखिन्थ्यो । दोस्रो हाफमा उनीहरुले बुझे, फ्रान्सका लागि विश्वकप कति नजिक छ भनेर । त्यसपछि उनीहरुको खेलमा अलग जोश देखियो । र, ४–२ को जित निकाल्न सके । अब प्रशिक्षक डेस्च्याम्पस् शैलीको जोसुकैले आलोचना गरुन्, खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने उनको रेकर्ड केही गरी मेटिने छैन ।

प्रतिकृया दिनुहोस