ब्लगशनिवार, श्रावण ५, २०७५

‘फोहोर वागमतीमा मेरो सद्गत नगर्नू’

भैरव रिसाल

‘मरेपछि फोहोर वागमतीमा सद्गत नगर्नू’ भन्नुको अर्थ वागमती नदी यथाशक्य चाँडो सफा गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु र दबाब दिनु रहेछ । 

वागमती सफाइको एउटा प्रवाह नै आयो । यसका मियो थिए, नेपालको पहिलो कृषि इञ्जिनियर हुतराम वैद्य, जो त्रिपुरेश्वरका रैथाने हुन् । राष्ट्रिय जीवनका विभिन्न फाँटका मान्छेलाई मात्र घोचेन फोहोर वागमतीले, राष्ट्रिय व्यक्तित्वहरूलाई पनि नराम्ररी एलर्जी भएछ । र,

थापाथलीको वागमती पुलमुनि ६६ जना जम्मा भई एक ‘इच्छापत्र’ मा हस्ताक्षर गरियो । २०५४ मा हस्ताक्षरित इच्छापत्र यस्तो थियो, “सङ्लो र पवित्र पानी बग्ने वागमती नदी काठमाडौंवासीको उदासीनता र जिम्मेवार पक्षहरूको अकर्मण्यताले गर्दा मलमूत्र बग्ने ढलमा परिणत भएकाले यस्तो स्थिति रहेसम्म हाम्रो मृत्यु भएमा हामी तपसिलका व्यक्तिहरूको सद्गत वागमतीमा नगर्नू । सफा पानी बग्ने उपत्यका नजिकको अरू कुनै नदी छेउमा गरियोस् भन्ने चाहन्छौं । यसैले यस इच्छापत्रमा हस्ताक्षर गरेका छौं ।” 

हुतराम वैद्य।

हस्ताक्षरी ६६ जनामा केदारभक्त माथेमा, देववीर बस्नेत, शान्ता दीक्षित, नरेन्द्र प्रधान, मञ्जुश्री थापा, नीर शाह, रतनकुमार राई, पदम घले, माधवलाल महर्जन, विष्णु प्रसाई, तीर्थ कोइराला, अजय दीक्षित, दीपक ज्ञवाली, गोपाल गुरागाईं, बिहारीकृष्ण श्रेष्ठ, अनिल चित्रकार, प्रदीपकुमार मूल, भरतराज उप्रेती, वसन्त थापा, रघु मैनाली, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ हुन् ।

त्यस्तै, ऋषि शाह, भोला श्रेष्ठ, वीरेन्द्रबहादुर शाही, गोपाल योञ्जन, हेमबहादुर विष्ट, प्रत्युषराज वन्त, तीर्थबहादुर श्रेष्ठ, रत्नकुमार शर्मा, निर्मलमान तुलाधर, सुदर्शनराज तिवारी, सुधिन्द्र शर्मा, सुमित्रा मानन्धर गुरुङ, भरत शर्मा, तेजप्रसाद गौचन, डा. उपेन्द्र देवकोटा, डा. अभि सुवेदी, यादव खरेल, भैरव रिसाल, सुशीला रिसाल, धु्रवचन्द्र गौतम पनि सो हस्ताक्षर गर्नेमा छन् भने दीपेन्द्र गौचन, सुनील पोखरेल, रमेश श्रेष्ठ, राजेन्द्र दाहाल, प्रल्हाद योञ्जन, उर्मिला सिंखडा, केदार शर्मा, कनकमणि दीक्षित, चन्द्रप्रसाद गुरुङ, राजेन्द्र शलभ, हुतराम वैद्य, बसुन्धरा भुसाल, शोभा गौतम, अमृता बाँस्कोटा, कृष्णमुरारि गौतम (चट्याङ मास्टर), पूर्णहरि अमात्य, उज्वला शेरचन, जगतबहादुर गुरुङ, किशोरलाल मानन्धर, शम्भु गुरागाई, हरिवंश किराँत, दिलेन्द्रराज श्रेष्ठ, शीला सैंजू र शेषरमण शर्मा फोहोर वागमतीमा सद्गत नगर्ने हस्ताक्षरी हुन् ।

छिनाल्न नसकिने कुल परम्परा
आजभन्दा २१ वर्षअघि काठमाडौं खाल्डोमा विद्युत् शवदाह गृह बनेको थिएन । दाउराको चितामा सद्गत गरिन्थ्यो । माथि उल्लिखित इच्छापत्रमा हस्ताक्षरकर्तामध्ये एक यो पंक्तिकारलाई जानकारी भएसम्म भरतराज उप्रेती, गोपाल योञ्जन, प्रह्लाद योञ्जन, चन्द्रप्रसाद गुरुङ, हुतराम वैद्य र डा. उपेन्द्र देवकोटा बितिसक्नुभएको छ ।

हस्ताक्षर गर्नेहरूमध्ये कति जनाको जातीय संस्कार कुल परम्परा अनुसार वागमतीमा सद्गत नै गरिंदो रहेनछ । वागमती नदी सभ्यताको पक्षमा जीवनभर नै आफूलाई समर्पण गर्नुभएका हुतराम वैद्य पनि फोहोर वागमतीमा आफ्नो सद्गत नगर्नु भन्नेमा हुनुहुन्थ्यो । तर, आफ्नो परिवारलाई भने सुटुक्क ‘कुल परम्परा अनुसार कालमोचन घाटमै सद्गत गर्नू’ भन्नुभएको रहेछ ।

अन्त्यमा उत्तराधिकारीहरूले पशुपति आर्यघाटमै उहाँको सद्गत गरे । चन्द्रप्रसाद गुरुङ कञ्चनजंघा हिमालको काख घुन्सामा हवाई दुर्घटनामा बितेकाले शायद उहाँको शेषाङ्गको सद्गत वागमतीमै गरे कि !

इच्छापत्रवाला कति जनाले धर्म परिवर्तन गरिसकेका रहेछन् । कति जनाको संस्कार जलाउने होइन, मिलेसम्म परम्परागत ठाउँमा भूमिस्थ गराउने रहेछ । भरतराज उप्रेतीले इच्छामरण रोज्नुभएछ । कहाँ गरे सद्गत हेक्का राखिनछु । डा. देवकोटाको सद्गत विद्युत् शवदाह गृहमा भयो । माथिका कति जनाले त त्यो इच्छापत्रबाट आफ्नो नाम नै फिर्ता लिएको भन्नुभो मसँग ।

चुनौती हुने अन्तिम इच्छा
हामी दुई सुशीला रिसाल र भैरव रिसालले मरणोपरान्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लास दान गरिसकेकाले सद्गतको प्रक्रियामा पस्नै परेन । तर मरणोपरान्त व्यक्तिको सम्पूर्ण श्रीसम्पत्तिमा अधिकार नरहेझैं लास र सद्गत प्रक्रियामा पनि हक हुँदो रहेनछ । सार्वजनिक व्यक्तित्व कमलराज रेग्मीले आफ्ना अन्तिम सन्देश र इच्छाहरू लेखेर छोड्नुभएको रहेछ ।

इच्छा अनुसार सद्गत नारायणघाटमै सम्पन्न भयो । तर, ‘१३ दिनसम्म छोरा डा. प्रकाशले निःशुल्क उपचार गरिदिऊन्’ भनेको चाहिं के भो ! समवेदना व्यक्त गर्न हामी उहाँको घरमा पुग्दा छोरा प्रकाश परम्परागत जस्तै किरियामा हुनुहुन्थ्यो ।

उल्लिखित हस्ताक्षरकर्ताले ‘मरेपछि फोहोर वागमतीमा सद्गत नगर्नू’ भन्नुको अर्थ वागमती नदी यथाशक्य चाँडो सफा गर्न सरोकारवालाहरूको ध्यानाकर्षण गराउनु र दबाब दिनु रहेछ भन्ने लाग्यो ।

मरेपछिको शरीर पनि आफ्नो वशमा नहुने हुनाले संकल्प गर्नुको तात्पर्य रहेनछ भन्ने लाग्यो । आफ्ना उत्तराधिकारी एवं सन्तानलाई आफ्नो अन्तिम इच्छा पूरा गर्न दबाबबाट होइन; छलफल, आग्रह र अनुरोधबाट तयार गराउनु चुनौती लाग्यो । आफू अशक्त भएपछि वा मरेपछि मृत शरीरउपर मृत व्यक्तिको स्वामित्व असम्भव हुने नै भयो ।

प्रतिकृया दिनुहोस