उफ् गर्मी! घामले काठमाडौं रन्कियो
काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएसँगै गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस पुगेको थियो, जुन यस वर्षकै बढी तापक्रम हो। यसअघि जेठ दोस्रो साता काठमाडौंमा यस वर्षको सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो।
यही साउन १ र २ मा अधिकतम तापक्रम ३१.६ डिग्री पुगेको थियो। गत असार २३ मा काठमाडौँको अधिकतम ताफक्रम ३१.५ डिग्री थियो।
निरन्तरको वर्षा तथा बदलिँदो तापक्रमका कारण असार १८ मा काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो। काठमाडौँ उपत्यकामा केही दिनयता निरन्तर घाम लागेका कारण तापक्रममा वृद्धि आएको महाशाखाको भनाइ छ। शनिबारदेखि मनसुनी गतिविधि सक्रिय हुने र देशका मध्य तथा पूर्वी भेगका धेरै स्थानमा वर्षा हुने मौसमविद् मीनकुमार अर्यालले बताए।
महाशाखाको विवरणअनुसार शुक्रबार सबैभन्दा बढी काठमाडौँमा २० मिलिमिटर वर्षा भएको थियो। जिरीमा १८, वीरेन्द्रनगरमा ११ र ताप्लेजुङमा ६ मिलिमिटर वर्षा भएको थियो। अबको दुई दिनसम्म देशका अधिकांश भेगमा बदली रही हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले विज्ञप्तिमार्फत जनाएको छ।