भ्रष्टाचारको आरोपमा दक्षिण कोरियाली पूर्वराष्ट्रपतिलाई ३२ वर्षको जेल सजाय
सोल– दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ।
सोलस्थित उच्च अदालतले शुक्रबार उनलाई यसअघि दिइएको सजाय थप गर्ने निर्णय गरेको हो। भ्रष्टाचारको थप अनुसन्धानपछि उनी माथि ८ वर्षको सजाय थप्ने निर्णय भएको हो।
गत महिनामात्र उनलाई २४ वर्ष जेल र एक करोड ७० लाख अमेरिकी डलर बराबरको जरीवना सजाय सुनाइएको थियो।
दक्षिण कोरियाको राजधानी सोलस्थित अदालतका अनुसार उनले अब ३२ वर्षको लामो जेल सजाय व्यहोर्नुपर्ने छ। उनी हाल थुनामै छन्।
सन् २०१७ को मार्चमा भ्रष्टाचारको आरोपमा उनलाई सरकारले नियन्त्रणमा लिएको थियो।
भ्रष्टाचारको प्रकृति हेरेर यसअघि नै सरकारी वकिलले कम्तीमा ३० वर्ष जेल सजायको माग गरेका थिए।
पार्कको उमेर ६६ वर्ष छ र उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति बन्न सफल भएकी थिइन। उनीमाथि राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोप लागेको थियो।
भ्रष्टाचारमा संलग्न देखिएको आरोप अदालतमा प्रमाणित भएपछि उनलाई संसदमा महाअभियोग लगाएर बर्खास्त गरिएको थियो। उनी महाअभियोग लागेर पद गुमाउने पहिलो राष्ट्रपति पनि हुन।
रासस–एएफपी