भारतीय प्रधानमन्त्री मोदीको विदेश भ्रमणको खर्च करिब डेढ हजार करोड
नयाँ दिल्ली (एजेन्सी)– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४ वर्षको दौरान विदेश यात्रामा १ हजार ४ सय ८४ करोड भारतीय रुपैयाँ खर्चिएका छन्।
विदेश राज्य मन्त्री विके सिंहले विहिबार राज्यसभालाई दिएको जानकारी अनुसार २०१४ को जुनयता प्रधानमन्त्री मोदीले ८४ पल्ट यात्रा गरेको र यस दौरान चार्टर्ड उडान, विमानको भाडा र हटलाइन सुविधाबापत यति धेरै रकम खर्चिएका हुन्।
उनले राज्यसभामा पेश गरेको रिपोर्टमा १५ जुन २०१४ देखि १० जुन २०१८ सम्म विमान भाडामा राख्न मात्र १ हजार ८८ करोड ४२ लाख खर्च भएको छ। यस्तै, चार्टर्ड उडानका लागि ३ सय ८७ करोड २६ लाख र हटलाइन सुविधाका लागि ९ करोड १२ लाख खर्च भएको छ।
मोदीले प्रधानमन्त्री भएपछि ४२ देशको यात्रामा ८४ पल्ट विदेश यात्रा गरेका थिए। राज्य मन्त्री सिंहले पेश गरेको विवरणमा २०१७–१८ र २०१८–१९ को विदेश यात्रामा भएको हटलाइन सुविधाको खर्च समावेश गरेका थिएनन्। यस्तै, २०१८–१९ को यात्रामा चार्टर्ड उडानमा भएको खर्च पनि समावेश छैन।
मोदीले २०१५–१६ मा सर्वाधिक २४ राष्ट्रको भ्रमण गरेका थिए। २०१७–१८ मा १९ र २०१६–१७ मा १८ देश समावेश छन्। २०१४–१५ मा भने मोदीले १३ देशको भ्रमण गरेका थिए।