कर्णालीका मुख्यमन्त्री शाहीले भने– दोषीमाथि कार्यवाही हुन्छ
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विहिबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको घटनाले आफूलाई दुःखी तुल्याएको बताएका छन्।
विनाकारण प्रतिष्ठानमा ढुंगामुढा गरी क्षति पुर्याइनु दुःखको कुरा भएको बताउँदै उनले भने, ‘कर्णाली प्रदेशमा सबैखाले स्वास्थ्य सेवा उपलब्ध हुने भएकाले कमजोर हुँदै गएको डा केसीको ज्यानको सुरक्षाका लागि काठमाडौंँ जान आग्रह गर्न जुम्ला गएका थियौंँ तर प्रदेश सरकारलाई समेत गेट बन्द गरेर डा केसीलाई भेट्न जान असहज वातावरण बनाइयो।’
घटनामा संलग्न सिसी क्यामेरामा कैद भइसकेकाले यसको उचित छानवीन गरी कारवाहीको दायरामा ल्याउने उनको भनाइ थियो।
आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रतिष्ठान, शिक्षण अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सुनियोजित ढंगबाटै तोडफोड भएको बताए।
यसैबीच आन्दोलनकारीसँगको झडपमा गम्भीर घाइते प्रहरी जवान कमल आचार्यलाई साँझ ६ बजेर ४५ मिनेटमा थप उपचारका लागि फिस्टेल एयरको हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिए।
उनले आन्दोलनकारीले हानेको सिसा आचार्यको बायाँ छातीबाट बिझेर दायाँ छातीमा पुगेको र अवस्था जटिल रहेको बताए।
रासस