चालकले मोबाइल चलाउँदा बस दुर्घटना
दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर जाँदै गरेको ना ३ ख ९४३६ नंको यात्रुवाहक बस गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटनामा परेको छ । ३ कात्तिक विहान भएको दुर्घटनामा परेर बसमा सवार १७ यात्रु घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गुलरियाका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालकको लापरबाहीले दुर्घटना भएको बताए । घाइतेमध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
“बसमा रहेका प्रत्यक्षदर्शीका अनुसार चालक सुरेन्द्र कँुवर एक हातमा मोबाइलमा कुरा, अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको हो”, प्रहरी नायब निरीक्षक धामीले भने, “यात्रुहरुले त्यसो नगर्न भन्दाभन्दै बस दुर्घटना भयो ।” चालक कुँवरको खोजी भइरहेको धामीले जानकारी दिए।रासस