कसले जित्ला विश्वकप?
काठमाडौं (एजेन्सी)– विश्वकप उपाधिका लागि आज पूर्व च्याम्पियन फ्रान्स र पहिलो पल्ट फाइनल पुगेको क्रोएसियाबीच भिडन्त हुँदैछ। रुसको राजधानी मस्कोस्थित लुझनिकी रंगशालामा नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुने फाइनलपछि २१ औं संस्करणको विश्व विजेता टिमको घोषणा हुनेछ।
क्रोएसियाले लिगदेखि सबै खेल जितेर फाइनलसम्मको यात्रा गरेको हो। फ्रान्सले लिग चरणको एक खेल गोलरहित बराबरी खेलेको थियो। ऊ पनि अपराजित रहँदै फाइनल यात्रा तय गर्न सफल भएको हो।
फ्रान्स दोस्रो विश्वकप जितको नजिक छ। क्रोएसियाका लागि इतिहास लेख्ने सुनौलो अवसर छ। फ्रान्सले सन् १९९८ आफ्नै देशमा आयोजना भएको विश्वकप पहिलो पल्ट जितेको थियो। सन् २००६ मा ‘लेस ब्लुज’ फाइनल पुगेपनि इटालीसँग पराजित हुन पुगेको थियो। फ्रान्स तेस्रो पल्ट फाइनल खेलिरहेको छ। क्रोएसिया पहिलो पल्ट विश्वकपको फाइनल पुगेको हो।
सन् १९९८ मा विश्वकपमा पहिलो पल्ट फाइनलमा सहभागी हुन फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई नै पराजित गरेको थियो। डाभोर सुकरको कप्तानीमा रहेको क्रोएसियाली सुकरकै गोलमा अग्रता लिएको थियो। तर, फ्रान्सले पछि दुई गोल फर्कायो। फ्रान्सको जितमा त्यतिबेला लिलियाम थुराम नायक बनेका थिए। उनले दोस्रो निर्णायक गोल गरेपछि पहिलो पल्ट विश्वकप खेलेको क्रोएसिया ऐतिहासिक उपलब्धिबाट चुकेको थियो।
यसपालि कप्तान लुका मोड्रिच पूर्ण फर्ममा देखिन्छन्। उनी नाइजेरिया, अर्जेन्टिना र रुसविरूद्धको खेलमा ‘म्यान अफ दि म्याच’ भएका थिए। जारी विश्वकपमा मैदानमा सबैभन्दा बढी खटेर खेल्ने खेलाडी पनि उनी नै हुन्। विश्वकपको ६ खेलमा उनी ६३ किलोमिटर दौडिसकेका छन्। सबैभन्दा बढी पास उपलब्ध गराउने खेलाडीमा पनि उनकै नाम अगाडि छ। प्रत्येक खेलमा उनले दुई दशमलव ७ प्रतिशत प्रमुख पास निकालेका थिए।
आजको खेलमा उनी फ्रान्सेली खेलाडीको सबैभन्दा बढी निगरानीमा हुने पक्का छ। क्रोएसियाका अर्का खतरनाक खेलाडी स्ट्राइकर मारियो मान्डुज्किच हुन्। ‘एरियल डुयुल्स’ मा उनीभन्दा खतरनाक खेलाडी यो विश्वकपमा अरु देखिएका छैनन्। ‘वान भर्सेस वान’ को अवस्थामा उनले गरेको गोलको नतिजा ७२ दशमलव ७ प्रतिशत छ। त्यसैले आज फ्रेन्च डिफेन्डर राफायल भारान र सामुअल उम्टीटीले डिफेन्समा धेरै मेहनत गर्नु पर्ने देखिन्छ।
इङ्ल्यान्डविरूद्ध सेमिफाइनल खेलमा क्रोएसियाको डिफेन्स रहिम स्टेरलिङको छिटो खेल्ने कलासँग केही असहज महसुस गरिरहेको थियो। त्यसैले आज क्रोएसियाका लागि केलियान एमबापे खतरनाक बन्न सक्छन्। अर्जेन्टिनाविरूद्ध एमबापेले आफ्नो ‘स्पिड’ र बललाई नियन्त्रणमा राख्ने जुन शीप देखाए, यसले क्रोएसियाली डिफेन्सलाई थप अफ्ठेरोमा पार्ने पक्का छ। फ्रान्सको अग्रपंक्तिमा आन्टन ग्रिजमन र जिरुडको उपस्थिति पनि बलियो मानिन्छ। जिरुडले अहिलेसम्म गोल गर्न सकेका छैनन्। तर, प्रशिक्षक डिडियर डेस्च्याम्पसले उनलाई नियमित टोलीमा स्थान दिएका छन्।
सेमिफाइनलमा एमबापेलाई रोक्न बेल्जियमले यान भेर्टोङ्घमलाई ‘डिप लेफ्ट ब्याक’ मा खेलाएको थियो र नासेर चाड्लीलाई मिडबाट तल फुल ब्याकमा झारेको थियो। आज उनलाई रोक्न क्रोएसियाले लेफ्ट विङबाट इभान पेरिसिक र इभान स्ट्रिनिकलाई विशेष जिम्मेवारी दिने सम्भावना प्रबल छ। यसअघि उत्कृष्ट खेलिरहेका डिफेन्डरद्वय डेजन लोर्भेन र डोमागोज भिडाको अग्नी परीक्षा पनि हुनेछ।
फाइनलमा दुवै टोली आक्रमणमा उत्रिने सम्भावना बलियो छ। क्रोएसियाले यसअघिको खेलमा ४५ प्रतिशत आक्रमण लेफ्ट साइडबाट गरेको छ। यस्तै, फ्रान्सले ४२ प्रतिशत आक्रमण राइट साइटबाट गरेको थियो।