प्रिमियर लिग खेलाडीको बाहुल्य रहेको इङ्ल्यान्ड र बेल्जियमबीच तेस्रो स्थानको भिडन्त आज
काठमाडौं (एजेन्सी)– इङ्लिस प्रिमियर लिग खेलाडीहरूको दह्रो जमघट भएको इङ्ल्यान्ड र बेल्जियमबीच विश्वकपको तेस्रो स्थानका लागि शनिवार राती ७ बजेर ४५ मिनेटमा खेल हुँदैछ।
विश्वकपका सर्वाधिक गोलकर्ता इङ्लिस कप्तान ह्यारी केनको लागि आजको खेल निकै महत्वपूर्ण मानिन्छ। उनी ६ गोल गरेर ‘गोल्डेन बुट’ को प्रमुख दावेदार बनेका छन्। यस्तै, बेल्जियमको मुख्य स्ट्राइकर रोमेलु लुकाकु पनि ‘गोल्डेन बुट’ को दावेदारीमा दोस्रो नम्बरमा छन्। उनले ४ गोल गरेका छन्।
यसअघि विश्वकपअन्तर्गत समूह चरणको खेलमा बेल्जियमले १–० गोलले इङ्ल्यान्डलाई पराजित गरिसकेको छ। यस अर्थमा आज इङ्ल्यान्डलाई समूह चरण खेलको बदला लिने अवसर पनि हो।
समूह चरणको खेलमा दुवै टोलीले आफ्ना स्टार खेलाडीहरूलाई विश्राम दिएका थिए। तर, आज दुवैले आफ्नो पूर्ण टिम मैदानमा उतार्ने छन्।
इङ्ल्यान्ड प्रतियोगिताको सेमिफाइनल पुगेर क्रोएसियासँग दूर्भाग्यपूर्ण रुपमा २–१ गोलले बाहिरिएको थियो। यस्तै, बेल्जियम पनि सेमिफाइनलमा फ्रान्ससँग १–० गोलले पराजित भएको थियो।
इङ्ल्यान्ड र बेल्जियम दुवैलाई यसपालि विश्वकपको दावेदारको रुपमा पनि हेरिएको थियो। तर, दुवै टोली सेमिफाइनलबाट माथि उक्लिन सकेनन्।
बेल्जियमले समूह चरणको तीन खेल ट्युनिसिया, पानामा र इङ्ल्यान्डलाई पराजित गर्दै अपराजित टोलीको रुपमा नकआउट चरणमा प्रवेश पाएको थियो। नकआउटमा पनि प्रिक्वाटर फाइनलमा उसले जापानलाई ३–२ र क्वाटरफाइनलमा ब्राजिललाई २–१ गोलले पराजित गरेको थियो।
इङ्ल्यान्ड समूह चरणको खेलमा बेल्जियमसँग मात्र १–० गोलले पराजित भएको थियो। ट्युनिसिया र पानामालाई पराजित गर्दै समूहको दोस्रो टोली बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो।
इङ्ल्यान्डले प्रिक्वाटर फाइनलमा कोलम्बियालाई पेनाल्टि सुटआउटमा ४–३ गोलले पराजित गरेको थियो। यस्तै, क्वाटरफाइनलमा स्विडेनलाई २–० गोलले पराजित गरेपछि २८ वर्षमा विश्वकपको सेमिफाइनल प्रवेश गरेको थियो।
इङ्ल्यान्डको हालको टिममा सवै खेलाडी प्रिमियर लिग खेल्ने छन्। यस्तै, बेल्जियममा पनि १२ खेलाडी इङल्यान्डमा बसेर प्रिमियर लिग खेल्छन्।
बेल्जियम यो विश्वकपमा सर्वाधिक १४ गोल गर्ने टोली पनि हो। विपक्षी टोलीलाई गोल गर्ने मामिलामा इङ्ल्यान्ड र क्रोएसिया दोस्रो नम्बरमा पर्छन। दुवै टोलीले १२ गोल गरेका छन्। बेल्जियम १९८६ पछि विश्वकपको सेमिफाइनल प्रवेश गरेको थियो।