रिपोर्टशनिवार, आषाढ ३०, २०७५

भक्तपुरमा बाढीः निम्तो दिइएको विपत्ति

मुकेश पोखरेल

२७ असार रातिको वर्षाबाट भक्तपुरमा डुबानको विपत्ति निम्तिनुको कारण थियो– हनुमन्ते खोलामा जथाभावी फालिएको फोहोर । फोहरले पानीको निकास थुनिंदा खोला बस्तीतर्फ सोझियो । अनियन्त्रित बसोबास र खोला क्षेत्र अतिक्रमण गरी बसाइएका बस्ती पनि डुबानको कारण बने ।

जलमग्न भक्तपुर । तस्वीरहरुः मुकेश पोखरेल र विक्रम राई

२७ असार राति काठमाडौं उपत्यका खानेपानी लिमिटेडको जगातीस्थित भक्तपुर शाखाको पम्पहाउसमा ‘ड्यूटी’ मा थिए रत्नबहादुर भरेल । पम्प चलाउने विद्युत् ट्रान्सफर्मर पड्केको आवाजले उनलाई मध्यरातमा ब्यूँझायो । बाहिर निस्कँदा घुँडासम्म पानी आइसकेको थियो । “टर्च बालेर हेर्दा खोलो पसिसकेको रहेछ” उनी भन्छन्, “त्यसपछि पम्पहाउस छेउमा पसल गर्ने रीता साहको परिवार र मोक्तान ग्यारेजमा सुतेकाहरूलाई उठाएँ ।”

झमझम पानी परिरहेको त्यो बेला साह परिवारका पाँच र ग्यारेजमा १५ जना मस्त निदाएका थिए । हनुमन्ते खोलाको बाढी पसिसकेकोले दौडने अवस्था नभएपछि सबै जना ग्यारेजमा राखिएको एउटा बसबाट भागे । जिल्ला प्रहरी कार्यालय, भक्तपुरका अनुसार २७ असारको बाढीबाट ५०० घरपरिवार विस्थापित भए । तरकारी र पशुचौपाया गरी रु.४ करोडभन्दा बढीको क्षति भयो ।

कटुञ्जेमा जग्गा भाडामा लिएर गाईपालन गरेका प्रेमबहादुर बस्नेतका १५ मध्ये ५ वटा गाई बाढीमा बगे । वार्षिक रु.५० हजार जग्गा भाडा तिर्ने गरी गत चैतदेखि व्यवसाय थालेका उनले ८० बोरा दाना पनि गुमाए । त्यही ठाउँमै जग्गा भाडामा लिएर बंगुर पालन गरेका बिर्खमान मगरका माउ र पाठा गरी ५० वटा बंगुर बाढीमा परे ।

सुनापति गाउँपालिका–२ रामेछापका उनले व्यवसाय थालेको एक वर्ष पुग्दै थियो । “पहिलो छिमल पाठाबाट लागत उठ्ला भन्ने सोचेको बेला बाढीले बगायो” उनी भन्छन्, “धन्न ज्यान बच्यो ।” मगर र बस्नेतलाई बिहान प्रहरी टोलीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको थियो ।

बाढीकाे कारण
२७ असार रातिको बाढीले भक्तपुरका राधेराधे, सल्लाघारी, कमलविनायक, इथुली, निकिसेरा लगायतका ठाउँ डुबाएपछि यसका कारणबारे अनेक अड्कलबाजी गरिए ।

कसैले विगतमा भन्दा ठूलो वर्षा भएर आएको बाढीले डुबाएको अड्कल काटे भने कसैले अतिक्रमणले खोला साँघुरो भएकोले बस्तीतिर बाढी पसेको ठाने । तर, दुवाकोटका प्रेम खत्री हनुमन्ते खोलालाई फोहोर फाल्ने ‘डम्पिङ्ग साइट’ बनाउँदा यो अवस्था आएको बताउँछन् । “अनियन्त्रित बसोबास र खोला अतिक्रमणका कारण मात्र यो भएको होइन” उनी भन्छन्, “फोहोरले पानीको निकास थुनिंदा खोलो बस्तीतिर पसेको हो ।”

हुन पनि, त्यो रात भक्तपुरको नगरकोटमा ११७ मिलिमिटर, चाँगुनारायणमा ७६ र भक्तपुरमा १२९.६ मिलिमिटर पानी परेको थियो । मौसमविद्हरूका भनाइमा, एक्कासी बाढी आउने गरिको वर्षा थिएन, त्यो । यसअघि योभन्दा ठूलो वर्षा हुँदा यसरी डुबान नभएको प्रेम खत्री बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, २८ साउन २०४७ मा भक्तपुरमा २६० मिलिमिटर, चाँगुनारायणमा ७ साउन २०५९ मा १६५ मिलिमिटर र १६ साउन २०४३ मा नगरकोटमा १७९.४ मिलिमिटर वर्षा भएको थियो ।

डुबान क्षेत्र डुल्दा पनि प्रेम खत्रीले भनेजस्तै देखियो । मिचिएर साँगुरो बनेको खोला किनारमा प्लाष्टिक मात्र होइन फोहोरका ठूल्ठूला बोराहरू पनि अड्किएका देखिए । बाढी पसेको खेत र घरआँगन समेत फोहोर प्लाष्टिकले भरिएका थिए । एक दशक अघिसम्म हनुमन्ते किनारमा खेत मात्र थियो, अहिले धेरैजसो ठाउँमा खोलालाई सिमेन्टका घरहरूले मिचेको छ ।

बाढीले नष्ट पारेको कटुञ्जेको तरकारी बाली ।

ती घर र टोलहरूका फोहोर खोलामै फालिन्छ । पूरै डुबानमा परेको निकिसेराको हनुमन्ते पुल छेउको टोलका शालिकराम पाण्डे सबैतिर सिमेन्टले लिपिएपछि आकाशबाट परेको पानी जमीनमा भिज्न नपाई जम्मा भएर बाढीमा परिणत भएको बताउँछन् । “पहिला साउनसम्म रोपाइँ हुन्थ्यो, अहिले पानी सोस्ने जमीन नै छैन” उनी भन्छन्, “घरको छाना र छतबाट पानी खस्नासाथ बाढी बनेर डुबान हुन्छ ।”

त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभाग प्रमुख डा. नरेन्द्र खनाल पनि भक्तपुरको बस्ती डुबान हुनुको पछाडि वर्षात् भन्दा बाहेकका प्रमुख दुई कारण औंल्याउँछन्– खोलामा पानीको बहाव रोक्ने गरी बनाइएका भौतिक संरचना र खोलामा फ्याँकिएका प्लाष्टिक लगायतका फोहोर । “घरहरू बनाउँदा सकेसम्म खोलातिर च्याप्ने गरियो 

। त्यसरी साँगुरिएको खोलामा प्लाष्टिकजन्य फोहोर फालेर बहाव बन्द गरियो” उनी भन्छन्, “त्यसैले यसलाई जनधनमाथि मूर्खतापूर्ण ढंगले निम्त्याएको संकट भन्न सकिन्छ ।”

रत्नबहादुर भरेल (बायाँ) र बिर्खबहादुर मगर ।

यो डुबानले हाम्रो योजना र कार्यशैलीलाई गिज्जाएको उनले बताए । भक्तपुरको पाठबाट सिकेर तत्काल योजनाबद्ध बस्ती विकासमा ध्यान दिनुपर्ने उनको भनाइ छ । हनुमन्ते खोलासँगै जोडेर मलिलो जग्गामा अहिले पनि धमाधम घरहरू ठडिंदैछन् ।

सल्लाघारीको एसएस चोक दक्षिणको होचो जग्गामा यसरी नै बस्ती बस्यो, जहाँ २७ असारको औसत वर्षाले ठूलो कहर ल्यायो । “खासमा यो खेतीको लागि उपयुक्त जग्गा हो” स्थानीय विष्णु बख्रेल भन्छन्, “खोलो हिंड्ने ठाउँमा घरहरू उम्रेपछि जे डुब्नुपर्ने हो, त्यही डुब्यो । यसमा कसलाई के भन्ने !”

प्रतिकृया दिनुहोस