ब्लगशनिवार, आषाढ ३०, २०७५

वीरेन्द्र झण्डै पछारिएका !

भैरव रिसाल

राजा वीरेन्द्र झण्डै पछारिएका, तै जोगिए र कसैले प्रतिक्रिया खेप्नु परेन ।

२०३६ साल कात्तिक १६ गते दिउँसो सवा एघार बजे, ललिता निवास बालुवाटार । नेपाल राष्ट्र ब्यांकको केन्द्रीय कार्यालयको सभाकक्षमा राष्ट्रिय विकास परिषद् (राविप) को नवौं बैठक हुँदै थियो । राविपका अध्यक्ष राजा वीरेन्द्र आफैं थिए ।

बैठकको अध्यक्षता गर्न आउने राजालाई भव्य स्वागतका लागि परिषद्का सम्पूर्ण पदाधिकारी मात्र नभई प्रधानमन्त्री, संवैधानिक अङ्गका प्रमुखहरू, राष्ट्र ब्यांकका माथिल्लो तहका अधिकारी वर्ग सभाकक्ष बाहिर उभिएका थिए । भित्र परिषद्का सदस्य र आमन्त्रितहरू एकत्रित भैसकेका थिए ।

जनमत संग्रहको घोषणा भैसकेकोले हुनुपर्छ, पचहत्तरै जिल्ला पञ्चायतका सभापति पनि आमन्त्रित थिए । माहोल हँसिलो र उल्लासमय थियो । 

अरू कालो–नीलो राजा हँसिलो !

श्री ३ भीमशमशेरका छोरा हिरण्यशमशेर, हिरण्यका छोरा सुवर्णशमशेरको दरबार हो ललिता निवास । नेपाली कांग्रेसका नेता समेत रहेका सुवर्णशमशेरको ललिता निवास जति विशाल छ त्यति नै भव्य पनि । २०१६ सालमा विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा सुवर्णशमशेर उपप्रधानमन्त्री थिए ।

राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठेपछि बीपीसहित थुप्रै नेताहरूलाई सुन्दरीजलमा नयाँ जेल बनाएर थुनियो । उपप्रधानमन्त्री सुवर्णशमशेर भने अघिल्लो दिन कलकत्ता गएकाले जोगिएका थिए । महेन्द्रले उनलाई आफ्नो कदममा साथ दिन भन्दा प्रजातन्त्र विरुद्धका काममा सहयोग गर्न असमर्थता देखाएपछि उसो भए देश बाहिर जान संकेत गरेका थिए रे !

१ पुस काण्डपछि सुवर्णशमशेर नेपाली कांग्रेसको कार्यवाहक सभापति भए । उनकै नेतृत्वमा पञ्चायती सत्ता विरुद्ध सशस्त्र संघर्ष शुरू भयो । त्यही क्रममा सुवर्णको ललिता निवासमा सरकार लाग्यो र राष्ट्र ब्यांक बस्यो । २०३० असारमा सिंहदरबारमा आगलागी भएपछि राविप जस्ता उच्चस्तरीय निकायको बैठक बस्ने कक्ष नभएकोले नवौं बैठक ललिता निवासमा हुँदैथियो ।

त्यहाँको सभा कक्ष विशाल, भव्य र सुविधासम्पन्न भए पनि भवन पुरानो जमानाको हुँदा ढोकाको चौकोस अड्याउने सँघारठेलो आठ–नौ इञ्च अग्लो थियो । राजा वीरेन्द्र सभाकक्षमा पस्न लाग्दा नराम्रोसँग ठेस लाग्यो त्यही ठेलोमा । उनी झण्डै– झण्डै पछारिएका, तै–तै अडिए !

अकस्मात् स्थिति सन्न भयो । एकछिन अघिसम्मको हँसिलो माहोल एकाएक गम्भीर बन्यो । प्रधानमन्त्री सूर्यबहादुर थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रत्नशमशेर राणा, राष्ट्र ब्यांकका गभर्नर कल्याणविक्रम अधिकारी कालो निलो भए । यता राजा वीरेन्द्र भने सम्हालिसकेका थिए । उनी पूर्ववत् हँसिलो तथा प्रसन्न मुद्रामा देखिए । अपवादमा बाहेक सधैं हँसिलो देखिने उनको एउटा गुण नै थियो ।

सबैको दिन बलियो
त्यसरी ठेस लाग्दा राजा कथं हुरुक्कै भएका भए, लडेर हात–खुट्टा भाँचिएका भए, अङ्गभङ्ग भएको भए, आयोजकहरूको, राष्ट्र ब्यांकको र ‘ठाउँ ठीक छ, ओ.के.’ भन्नेहरूको के हविगत हुँदो हो ! तै सबैका दिन बलिया रहेछन्, राजा पछारिएनन् ।

राष्ट्रिय समाचार समितिको चीफ रिपोर्टर मेरा लागि पंचायती व्यवस्थाको जगजगीका बेला त्यो घटना समाचारको सामग्री बनेन । घटनाको ३९ वर्षपछि आज पहिलो पटक यो कुरा सार्वजनिक गर्दैछु, म ।

भोलिपल्ट जाँदा त्यो सँघारठेलो उक्काइ सकिएको रहेछ । राजाले अभिवादन ग्रहण गर्दा भुईंतिर हेर्नु व्यावहारिक नहुँदो रहेछ । यता राजाको आधुनिक दरबारमा सँघारठेलो छैन होला अनि बानी पनि भएन ।

प्रतिकृया दिनुहोस