मोड्रिचले भने– इङ्ल्यान्ड पराजयको कारण इङ्लिस फुटबल पण्डित
लन्डन (एजेन्सी)– क्रोएसियाली कप्तान लुका मोड्रिचले इङ्लिस फुटबल पण्डितहरूले आफ्नो टोलीलाई कमजोर आँक्नु नै इङ्ल्यान्ड पराजयको प्रमुख कारण भएको प्रतिक्रिया दिएका छन्।
ज्लाटको डालिचको प्रशिक्षणमा क्रोएसियाले बुधबार राती अतिरिक्त समयमा २–१ गोलले इङ्ल्यान्डलाई पराजित गर्दै पहिलो पल्ट विश्वकपको फाइनल पुगेर इतिहास रच्यो।
अघिल्लो दुई खेलमा पेनाल्टी सुटआउटबाट नतिजा निस्किएपछि क्रोएसियाली टोली ‘थकित’ भएको भन्ने इङ्लिस धारणाले आफूहरूलाई एकजुट बनाउन सहयोग पुर्याएको मिडफिल्डर मोड्रिचले बताए।
‘हामीले फेरि एकपल्ट देखाएका छौं, हामी थाकेका थिएनौं,’ उनले भने, ‘हामीले शारिरीक, मानसिकलगायत सवै हिसाबले खेलमा पकड बनाएका थियौं।’
किरन ट्रिपरले इङ्ल्यान्डलाई अग्रता दिलाएको खेलमा मारियो मान्डुज्किचले १ सय ९ मिनेटमा क्रोएसियालाई जित दिलाउनु अघि इभान पेरिसिचले खेललाई बराबरीमा ल्याएका थिए।
‘इङ्लिस पत्रकार, पण्डितहरूले टेलिभिजनबाट क्रोएसियालाई कम आँकिरहेका थिए। यो नै उनीहरूको ठूलो कमजोरी थियो,’ रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्ने मोड्रिचले बेलायती च्यानल आइटिभीलाई प्रतिक्रिया दिए, ‘उनीहरूले विपक्षी टिमलाई अझ बढी मर्यादा र इज्जत दिनुपर्ने थियो।’
अंग्रेजी अखबारमा इङ्लिस फुटबल पण्डितले गरेको भद्धा प्रतिक्रियापछि आफूहरू एकजुट भएको प्रतिक्रिया दिँदै उनले भने, ‘उनीहरूको शब्द सुनेपछि र पढेपछि हामीले भनेका थियौं– ठिकै छ, आज हामी हेर्नेछौं, को (टिम) थाकेको देखिने छन्।’
सन् १९९८ को विश्वकपमा तेस्रो भएको क्रोएसिया आइतबार मस्कोमा फ्रान्ससँग उपाधिको लागि भिड्ने छ। ‘क्रोएसियाली खेल इतिहासमा यो सबैभन्दा ठूलो सफलता हो। त्यसैले हामीले गर्व गर्ने पर्छ,’ मोड्रिचले भने।