नारायणगढ–मुग्लिन सडक भासियो, सवारी आवागमन एकतर्फी
नारायणगढ–मुग्लिन सडक खण्डको गाईघाट नजिक सडक अकस्मात भासिएपछि आवागमन एकतर्फी भएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले सडक भासिने क्रम बढ्दै गएपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको र कारण खोजी गर्न विज्ञ समूह झिकाईएको जानकारी दिएका छन् । नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ रहेको गाइघाटमा ३० मिटर लम्बाइ र छेउबाट सात मिटर चौडा भाग करिब एक फिट भासिएको छ ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेका अनुसार भासिने क्रम बढेमा तत्काल भित्तो काटेर सडक विस्तार गर्नुपर्ने हुन्छ । उनले तलबाट नदीले खोलेर भासिएको हुनसक्ने अनुमान गरिएको बताए ।
"आज विज्ञहरुको समूह आउने र के गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ," घिमिरेले भने ।
सोही ठाउँमा २०६० सालमामा सडक भासिदा 'रक स्वायल एङकरिङ' गरिएको तत्कालीन सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनियर प्रकाश उपाध्यायले बताए ।
भित्तोमा ड्रिल गरी १०/१५ मिटर रड घुसाएर रडसँगै सिमेन्ट जमाउने र बाहिरी भाग पनि ढलान गरी बलियो बनाउने कामलाई रक स्वायल एङकरिङ भनिन्छ । सोही ठाउँको रक एङकरिङले काम गर्न छोडेर धसिएको पनि हुनसक्ने अनुमान गरिएको छ ।
दैनिक करिब १० हजार सवारीसाधन आवातजावत गर्ने उक्त सडक विस्तारको अन्तिम चरणमा पुगेको छ ।