भोकभोकै चन्द्र वादीको विरामी परिवार
बाजुरको बुढिगंगा नगरपालिका– ७ बस्ने ६२ वर्षीय चन्द्र वादीको परिवार अस्वस्थ अवस्थामा चरम विपन्नता भोगिरहेको छ ।
“धेरै दिनदेखि चुल्हो चिसै छ, बेसहारा भयौं,” उनको अवस्थाबारे सोध्दा चन्द्रले भने, “यो (श्रीमती धनसरा) तीन महीनादेखि बिरामी छ, उपचार गराउने पैसा छैन, खाना, औषधि केही दिन सकेको छैन ।”
चन्द्र र उनकी श्रीमती ६१ वर्षीया धनसरा दुवै राम्रोसँग बोल्न सक्दैनन् । धनसरा सुस्त मनस्थितिकी छन् । आफू स्वस्थ हुँदा माटोका भाँडा बनाएर खाना जुटाउने गरेको भए पनि अहिले ढल्कंदो उमेर र बिग्रेको स्वास्थ्यले धेरै दिन भोकै विताउने गरेको चन्द्र बताउँछन् ।
साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बुढिगंगा– ७ सिमलकोट सडक छेउमा अर्कैको सानो छाप्रोमा बस्दै आएका चन्द्रले सामाजिक सुरक्षा भत्ता पाउनसक्ने भए पनि त्यसको प्रक्रिया थाहा नहुँदा पाउन सकेका छैनन् । धनसराको भने नागरिकता नै नभएकाले भत्ता पाउने अवस्था छैन ।
नागरिकताका लागि एकपटक पहल गर्दा माइतीका नातेदारले सनाखत गर्नुपर्ने भनेर फर्काइएको धनसरा बताउँछिन् । कालीकोटमा रहेको उनको माइती परिवारमा अहिले कोही पनि जीवित छैन ।
प्रकाश सिंह, बाजुरा