विश्वविद्यालयबीचको विवाद छिट्टै टुङ्गिन्छः शिक्षामन्त्री
शिक्षामन्त्री धनीराम पौडेलले त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा रहेको विवाद छिट्टै टुङ्गिने बताएका छन् ।
प्रेस सेन्टर चितवनले १ कार्तिकमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले आयोगले काम गरिरहेको र छिट्टै प्रतिवेदन आएपछि विवाद टुङ्गोमा पुग्ने बताएका हुन ।
विश्वका विभिन्न देशमा एकै ठाउँमा दुई वटा विश्वविद्यालयका कार्यक्रम सञ्चालन भएको भन्दै पौडेलले दुवै विश्वविद्यालयलाई एकै ठाउँमा सञ्चालन गर्न सक्ने विषयमा पनि अध्ययन भइरहेको उल्लेख गरे ।
त्रिभुवन विश्वविद्यालयले स्वामित्व हस्तान्तरण गर्ने वा दुवै विश्वविद्यालय एकै ठाउँमा सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।
यस वर्ष त्रिभुवन विश्वविद्यालयले रामपुरमा भर्ना लिने जनाएपछि दुई विश्वविद्यालयका बीचमा विवाद अझै बढेको देखिन्छ । पौडेलले आउँदो शैक्षिक सत्रमा समयमै विद्यार्थी समक्ष पुस्तक पुर्याउने गरी काम भइरहेको बताए । कक्षा १ को पुस्तक रङ्गिन गरिने र कक्षा १० को पाठ्यक्रम परिवर्तन हुने हुँदा ती दुई कक्षाका बाहेक अन्य कक्षाका पुस्तक छापिने काम भइरहेको उनले जानकारी दिए ।
फरक प्रसँगमा मन्त्री पौडेलले निर्वाचनसम्बन्धी ऐन बनाउने काम द्रुत गतिमा भइरहेको र कात्तिक मसान्तभित्रमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन आएमा चैत महिनाभित्रमै स्थानीय निकायको निर्वाचन गर्न सकिने बताए ।रासस