फ्रान्स र उरुग्वेबीचको रोचक भिडन्त आज, काभानी खेल्नेमा शंका
काठमाडौं (एजेन्सी)– पूर्व विश्व विजेता दुई टोली फ्रान्स र उरुग्वेबीचको रोचक क्वाटरफाइनल भिडन्त आज राती ७ बजेर ४५ मिनेटमा सुरु हुँदैछ। फ्रान्सले दुई पल्टको विश्व विजेता अर्जेन्टिनालाई ४–३ गोलले प्रि–क्वाटरफाइनलमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो।
यस्तै,उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गर्ने क्रममा अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गर्यो। आज विजयी भएको खण्डमा फ्रान्स २००६ पछि विश्वकपको सेमिफाइनल पुग्ने छ। फ्रान्स २००६ मा फाइनल पुगेर इटालीसँग पराजित भएको थियो।
उरुग्वे भने लगातार दोस्रो पल्ट सेमिफाइनल यात्राको तयारीमा छ। आजको खेलमा चोटका कारण इडिन्सन काभानी नखेल्ने सम्भावना बढेपछि फ्रेन्च टोली केही उत्साही देखिन्छ। पोर्चुगलविरूद्ध ७० मिनेटमा ह्यामस्ट्रिङको समस्या बोकेका काभानी मैदानबाट बाहिरिएका थिए। प्रि–क्वाटरमा पोर्चुगललाई पराजित गर्न दुवै गोल काभानीले नै गरेका थिए।
उनी उपस्थित नभएको खण्डमा उरुग्वेको आक्रमणको सम्पूर्ण जिम्मा बार्सिलोनाका स्ट्राइकर लुइस सुआरेजले उठाउनु पर्नेछ। काभानीले गरेको ४५ अन्तर्राष्ट्रिय गोलमा सुआरेजले १२ वटा बल मिलाइदिएका थिए। सुआरेजलाई आज मिडल्सब्रोगका पूर्व स्ट्राइकर क्रिस्टियन स्टुआनीले साथ दिने सम्भावना बलियो छ। काभानीको स्थानमा स्टुआनीलाई उतार्ने सम्भावना बलियो भएको उरुग्वेका पत्र–पत्रिकाले जानकारी दिएका छन्।
यस विश्वकपमा उरुग्वेको रक्षापंक्ति निकै राम्रो मानिएको छ। खटेर खेल्ने उनीहरूको स्वभावले खेलको नतिजालाई प्रभावित तुल्याउँदै पनि आएको छ। तर, आज काभानी अनुपस्थित भएको खण्डमा अग्रपंक्तिमा उरुग्वेको उपस्थिति फितलो हुन सक्ने र यसको फाइदा फ्रान्सले लिन सक्ने फुटबल विश्लेषक बताउँछन्।
फ्रेन्च टोलीमा हाल केलियान एमबापे जस्ता तीब्र गतिका खेलाडी छन्। अर्का स्ट्राइकर एन्टोन ग्रिजमनका कारण विपक्षी टोली सधै दबाबमा देखिदै आएको छ। एमबापेले अर्जेन्टिनालाई पराजित गर्न दुई महत्वपूर्ण गोल गरेका थिए। उनी यो विश्वकपको उत्कृष्ट युवा खेलाडीको मनोनयनमा सबैभन्दा अगाडि छन्।
आज फ्रान्सेली टोलीको सबैभन्दा चुनौती मिडफिल्डमा हुने देखिन्छ। ब्लेइस मटुडी दुई वटा पहेँलो कार्डका कारण उरुग्वेविरूद्धको खेलमा देखा पर्ने छैनन्। उनको स्थानमा कोरेन्टिन टोलिसोलाई उतार्ने सम्भावना बलियो छ।
फ्रान्स यो विश्वकपमा पाँच पल्टको विजेता ब्राजिलपछि दोस्रो लोकप्रिय टोलीको रुपमा रहेको छ। उरुग्वे र फ्रान्सबीच विश्वकपमा यसअघि तीन पल्ट भिडन्त भएको छ। र, तीनै पल्ट उरुग्वेका लागि सकारात्मक नतिजा निस्किएको छ। नकआउट चरणमा भने यिनीहरू पहिलो पल्ट भिडन लागेका हुन्।
सन् २००२ र २०१० को विश्वकपअन्तर्गत समूह चरणको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। सन् १९६६ मा उरुग्वेले २–१ ले फ्रान्सलाई पराजित गरेको थियो।
सन् २०१३ मा भएको मैत्रिपूर्ण खेलमा पनि सुआरेजको निर्णायक गोलका कारण फ्रान्स १–० ले पराजित भएको थियो। त्यसयता दुई देशबीच खेल भएको छैन्। फ्रान्सले उरुग्वेलाई आठ भिडन्तमा एक पल्ट मात्र पराजित गरेको छ। सन् १९८५ मा भएको मैत्रिपूर्ण खेलमा उसले २–० ले उरुग्वेलाई पराजित गरेको थियो।
उरुग्वे सन् १९३० र १९५० विश्वकप विजेता हो। यस्तै, फ्रान्सले १९९८ मा पहिलो पल्ट विश्वकप जितेको थियो।