ब्लगबिहिवार, आषाढ २१, २०७५

भवानी भिक्षुको गाउँ

चन्द्रकिशोर

भवानी भिक्षुले ६० वर्षअघि आफ्नो प्रसिद्ध कथा हारजित मा वर्णन गरेको परिवेश नै अनुभूत हुन्छ, आज पनि गोटिहवा गाउँ पुग्दा । 

यो गोटिहवा गाउँ हो । प्रसिद्ध आख्यानकार भवानी भिक्षुको घर पछ्याउँदै छौं हामी, कपिलवस्तुमा । गाउँको सिरानमा रहेको भिक्षुको पुरानो घरको अवशेष छ, नयाँ निर्माण हुँदैछ । घरको छेवैबाट सिङ्गो चौर शुरू हुन्छ ।

बस्तुभाउ गाउँको उत्तरमा पसारिएको त्यो चौरबाट फर्कंदै गर्दा परिवारकी जेठी सदस्य मधुमालती गुप्ता भेटिइन् । सूर्य अस्ताउँदै थियो, गाईबस्तु लिएर फर्किंदै गरेका चरवाहहरू पनि हाम्रो बातचित सुन्न अडिए । भिक्षुका भाइ मख्खनलाल गुप्ताकी बुहारी हुन्, मधुमालती ।

भिक्षुले २०१५ सालतिर लेखेको कथामा वर्णन गरे जस्तै लाग्छ गाउँ यतिखेर । बातचित सुन्न उभिएका गाउँलेका अनुहारमा भिक्षुका कथाका पात्रहरू घुरहू, सोनवा, अलगुवा, रतिया, बदरिया देखिन्छन् । स्वरुपमा केही परिवर्तन भए पनि गाउँ उस्तै, कथाका पात्र र प्रवृत्ति उस्तै ।

ज्योतिषीबाट नोहरराम नाम पाएका, भवानी भिक्षु साहित्यमा आउनुअघि भवानीप्रसाद गुप्ताका नामले चिनिन्थे भने बाल्यकालमा गाउँघरमा ‘बड्कुबाबु’ का रूपमा बोलाइन्थे ।

आगत उपन्यासका लागि मदन पुरस्कार पाएका भिक्षुले साहित्यमा मधेशको जीवन्त चित्रण गरेका छन् । मधुमालतीका अनुसार भिक्षुलाई खोज्दै नेपाली साहित्यका पाठकहरू गोटिहवा आइरहन्छन्, गाउँ पनि उस्तै छ ।

केही वर्षअघि डा. विष्णु आत्रेयको अध्यक्षतामा ‘भवानी भिक्षु स्मृति प्रतिष्ठान’ गठन भएको छ । सरकारी सहयोगमा निर्माण भइरहेको प्रतिष्ठानको भवनका निम्ति भिक्षु परिवारले जग्गा उपलब्ध गराएको छ । मधुमालती भन्छिन्, “भवन निर्माणमा कमसल काम भएकोले हस्तान्तरण हुनसकेको छैन ।” त्यो भवन उपभोक्ता समितिले गर्ने कमसल कामको नमूना भएको छ र जोडिएको छ भिक्षु जस्तो अग्लो नाम ।

यसबारे बुझ्दा प्रतिष्ठानका अध्यक्ष डा. आत्रेय ‘आफूलाई आर्थिक गतिविधिबारे जानकारी नहुने’ भन्दै पन्छिए भने कोषाध्यक्ष विक्रममणि त्रिपाठी ‘मधेशी समाजमा काम गर्न गाह्रो हुने’ बताएर उम्किए ।

भवानी भिक्षुको नाममा निर्माणाधीन स्मृति भवन देखाउँदै भाइ मख्खनलाल गुप्ताकी छोरा बुहारी मधुमालती र नातिनी सुमित्रा । (बायाँ) र गोटिहवास्थित अशोक स्तम्भको संरक्षण शुरू भएसँगै रामनरेश पासीसहित ३४ दलित परिवारले घर–सार गर्नुपरेको छ । तस्वीरहरुः चन्द्रकिशोर  

क्रकुछन्द बुद्धको जन्मस्थल, बुद्धत्व प्राप्तिपश्चात उनले पहिलो पटक बुबासँग भेट गरेको पवित्र स्थलको रूपमा परिचित छ– गोटिहवा । विख्यात चिनियाँ यात्रीद्वय फाह्यान (चौथो/पाँचौं शताब्दी) र ह्वेन साङ (सातौं शताब्दी) ले आफ्नो यात्रा वर्णनमा गोटिहवाबारे उल्लेख गरेका छन् ।

मौर्य सम्राट अशोकले क्रकुछन्द बुद्धको जन्मस्थल भ्रमण गरेको स्मृतिमा इसा पूर्व तेस्रो शताब्दीमा निर्माण गराएको स्तम्भको माथिल्लो खण्ड भाँचिएको छ । ३.२५ मीटर उँचाइको यो खण्डित अशोक स्तम्भलाई केही अघिसम्म गाउँलेहरू शिवको प्रतीक मानेर पूजा गरिरहेका थिए ।

लुम्बिनी विकास कोषले स्तम्भ क्षेत्रको वरिपरि पर्खाल लगाएको छ र वरपर थप पुरातात्विक क्षेत्र पहिचान गरी बस्तीका ३४ घरलाई अन्यत्र सर्न उर्दी जारी गरेको छ । त्यसमा प्रशासन र स्थानीय सरकारको पनि सहमति छ । घर सार्ने मध्येका एक हुन्, रामनरेश पासी ।

रु.३ लाख ५० हजार मुआब्जा पाएका उनको सकल परिवार घर भत्काउँदै छ । तर, कथा यतिमा सकिंदैन । घर भत्काउन थालेका उनी कहाँ जाने टुंगो छैन । मुआब्जाको रकमले यो दलित परिवारलाई झुपडी बनाउने सानो टुक्रा घडेरी पनि जुर्दैन । साउनमा घर भत्काएर विस्थापनको पीडा खेप्दैछ, सिङ्गो परिवार ।

मधुमालतीलाई गुहार्दै थिए पासी, “बरु त्यही स्मृति भवनमा बास पाऊँ, बर्खाभरलाई ।” पासी जस्तै कथा छ, अन्य चार घर दलितको पनि । पैसा हुनेहरूले घर सारिसके, तर भगवान, कुलई, रामदेव, गोजई र रामनरेशको ‘हारजित’ को कथा कसले लेखिदिने !

मधुमालतीकी छोरी सामाजिक अभियन्ता सुमित्रा भन्दै थिइन्, “पुरातत्व स्थलको विकास हुनु राम्रो हो तर, यी दलित परिवारको उठिबासको शर्तमा ? उनीहरूको बसोबासको व्यवस्था पहिले हुनुपथ्र्र्योे ।”

सदरमुकाम तौलिहवालाई कुदान हुँदै गोटिहवा जोड्ने सडकमा माटो पुर्ने काम भइरहँदा भिक्षुको घरछेउकै बाटोको बिजोगले कैयौं सवाल खडा गरिदिन्छ । लामो समयसम्म भिक्षु स्मृति भवन अधुरो रहँदा त्यहाँ पुग्नेमा उत्साह होइन, उदासी थप्छ ।

आफ्नो थातथलोका नामुद प्रतिभाको कदर गर्न स्थानीय सरकार आफैं सक्रिय हुनुपर्ने हो । स्थानीय सरकारले स्थानीय सम्पदा र त्यसको मूल्य पहिचान गर्न चुकेपछि गाउँमा समृद्धि टाढा हुँदै जान्छ । कमजोरको रक्षा त झन् अनिवार्य दायित्व नै हुनुपर्ने हो ।

तर, हाम्रा स्थानीय सरकारहरू मानसिकतामा पुरानो जमीनदारभन्दा कमका देखिंदैनन् । भिक्षुले आफ्नो हारजित कथाको समाप्तिमा लेखेझैं गोटिहवा गाउँमा एउटा बलियो र अर्को गरीब, तर दुई भिन्न मर्यादाबीचको प्रतिस्पर्धामा कसको जीत भयो कसको हार, टुंगो लाग्न सकेन ।

प्रतिकृया दिनुहोस