ब्लगआइतवार, आषाढ १७, २०७५

म चाहिं भाषाविद् होइन

केदार शर्मा

सजिलैसित ‘विद्’ बनाउने/बन्ने चलनले समाजको प्राज्ञिक स्तर र विशेषज्ञताको गुणवत्तामा नराम्रो असर परिरहेको र टपर्टुइँय्यापनको साम्राज्य फैलिइरहेको छ ।

मलाई हिजोआज आदर गर्नेले र यदाकदा गाली गर्नेले पनि भाषाविद् भनिदिन्छन्, दिक्क लाग्छ । म जस्ता अरू कतिलाई अरूले यत्तिकै ‘विद्’ बनाइदिएका होलान् ! यो सजिलो ‘विद्‌मय’ परिवेशमा कति हैसियत नै नपुग्ने विषयमा ‘विद्’ भएको दाबी गरेर बसेका होलान् ।

मेरो विचारमा त कुनै विषयको गहन अध्ययन, अनुसन्धान, चिन्तन, मनन गरेका र आफूले जानेका कुरा अरूको चित्त बुझाएर प्रस्तुत गर्न सक्ने मान्छे मात्र ‘विद्’ हुन् । ‘विद्’ कहलाइन गम्भीरतापूर्वक पढेका र लेखेका (थेसिस किनेर वा खेताला लगाएर प्रमाणपत्र हात पारेकाहरू होइन) र सकभर विश्वविद्यालयको डिग्री हासिल गरेका व्यक्ति हुनुपर्छ ।

प्राज्ञिक प्रकाशनहरूमा विधिवत लेखलेखादि प्रकाशित गरेका, विषयलाई चारैतिरबाट केलाएर हेर्न सक्ने, अन्यथा प्रमाणित भए आफ्नै मान्यता पनि छाड्न सक्ने व्यक्तिलाई मात्र विद् भन्नुपर्छ । कतिपय अवस्थामा स्वाध्यायनबाट नै कुनै विषयमा गहिरो ज्ञान हासिल गरेका पनि ‘विद्’ हुनसक्छन्, तर त्यस्ता व्यक्ति ज्यादै कम हुन्छन् । किनभने ज्ञान आर्जनको एक्लो यात्रा अझ दुरुह हुन्छ ।

“किनभने मलाई त्यस्तै लाग्छ” भन्ने व्यक्तिहरू अरू जे होलान्, तर ‘विद्’ को पगरी गुत्न लायक हुँदैनन् । विद् अर्थात् विद्वान् आग्रह र पक्षधरताबाट मुक्त हुन्छ । ज्ञान हासिल गर्नु र त्यसको प्रसार गर्नु बाहेक उसको साध्य केही हुँदैन । कुनै विषयमा ‘एक्सपर्ट’ का हैसियतमा कन्सल्टेन्सी गरेका भरमा वा कुनै खास अजेन्डा बोकेर दुई–चार वटा लेख लेखेका भरमा कोही विद् हुँदैन ।

कुनै विषयमा ‘एक्सपर्ट’ का हैसियतमा कन्सल्टेन्सी गरेका भरमा वा कुनै खास अजेन्डा बोकेर दुई–चार वटा लेख लेखेका भरमा कोही विद् हुँदैन ।

सबभन्दा धेरै विद्हरू जन्माउने काम पत्रकारहरूले गरिरहेका छन् । उनीहरूलाई विद्भन्दा तलका मान्छेको ‘कोट’ मा वजन नै नभए जस्तो लाग्छ कि के हो, जोसित कुरा गर्‍यो, त्यही विद् । जानकार, अध्येता, अनुसन्धाता आदि किन भनिरहनु ? सीधै विद् भन्दियो, पगरी पाउने खुशी हुन्छ, आपत्ति गर्ने कोही हुँदैन ।

तर बुझ्नुपर्ने कुरा हो, आफ्नो कार्यक्रममा आएर बोल्ने मान्छे नपाएका रेडियो वा टेलिभिजन पत्रकारले अनुत्तरदायी ढङ्गले पगरी गुताइदिएका भरमा विद् भइँदैन । एक पटक मुलुकमा कति थिए द्वन्द्वविद्हरू, कति थिए संविधानविद्हरू ? अहिले तिनीहरू के विद्मा फेरिएका होलान् ? के विद्वत्ताको क्षेत्र कन्सल्टेन्सी जसरी सजिलै फेरिन सक्छ ?

कसैले नजानेर, कसैले जानाजान, कसैले के भनूँ के भनूँ भनेर दिएका विद्को पगरी लगाउने हैसियत पुग्छ कि पुग्दैन, आफैंले विचार गर्नुपर्छ र त्यो पगरी आफैं खोल्नु पनि पर्छ । “मैले होइन, अरूले भनेको त हो नि” भनेर चूप लाग्यौं भने समाजलाई ढाँट्ने काममा हामी आफैं सहभागी भइरहेका हुन्छौं । त्यस्तो उल्फाको पगरी फुकालेर आफ्नै टोपी लगाउन सजिलै सकिन्छ पनि । मलाई नै कतिले बोलाउँछन्, “अब आउँदै हुनुहुन्छ भाषाविद्, वरिष्ठ पत्रकार ...”

त्यसरी बोलाइदा म भन्छु, “उद्घोषकले मलाई भाषाविद् र वरिष्ठ पत्रकार भने पनि म भाषाविद् होइन । वरिष्ठ पत्रकार पनि होइन । म सामान्य लेखक–सम्पादक मात्र हुँ । बेलाबेला भाषासित सम्बन्धित अभियानहरूमा पनि सामेल हुन्छु, त्यति हो ।”

कसैले अभियन्ता भन्यो भने आपत्ति गर्दिनँ, तर आफूले आफैंलाई अभियन्ता भनेको सुन्दा असुहाउँदिलो लाग्छ ।

कतिपयले सोध्छन्, “तपाईंलाई के भनेर सम्बोधन गरौं ?”

“सञ्चारकर्मी भनिदिनुहोस् न” म सजिलो बाटो लिन्छु ।

पत्रकार भनिनका लागि चाहिने जाँगर, अध्यवसाय, सम्पर्क, सूचनाप्रतिको चनाखोपन मैले राखेको छैन । नियमित रूपमा समाजलाई सूचित गर्ने काममा बलियो गरी संलग्न पनि छैन । लहड चलेको वा कर लागेका बेला गरेको कामले पत्रकारिताको जिम्मेवारी बोक्न सक्दैन ।

अझ भाषाविद् हुन त सबभन्दा पहिले भाषाशास्त्र पढेको हुनुपर्छ । शास्त्र पढेर पनि शास्त्री मात्र भइन्छ । विद् हुनका लागि त्यसपछि पनि लामो बाटो हिंड्नुपर्छ । मैले न भाषाशास्त्र पढेको छु न त त्यो बाटोमा आफ्नै सुरले हिंडेको छु । अनि कसरी भाषाविद् !

यसको अर्थ मैले केही गरेको छैन भन्ने होइन । मैले निकै काम गरेको छु र तिनमा गर्व पनि गर्छु । मैले धेरैलाई नेपाली युनिकोड चलाउन सिकाएको छु ।

आफ्नो भाषामा लेखपढ गर्ने सीपबाट हुने फाइदाबाट हाम्रो समाज वञ्चित नहोस् भन्ने उद्देश्यले म त्यसमा लागेको हुँ । नेपाली टाइप गर्नका अल्छीले सामाजिक सञ्जालमा रोमनमा नेपाली लेख्नेहरूलाई सल्लाह दिएको छु, सिकाएको छु, व्यङ्ग्य गरेको छु र कहिलेकाहीं त हप्काएको समेत छु । त्यो ‘एक्टिभिजम’ हो ।

केही वर्षअघि मदन पुरस्कार पुस्तकालयमा भाषा सम्बन्धी प्राज्ञिक बहस चलाएँ । जहाँ भाषाविद्हरू आए, बोले । मैले अन्तरक्रिया गरेको हुँ । जसरी सुन कमाउने काममा आउने फलामका औजार सुन हुँदैनन्, विद्वानहरूसित सङ्गत मात्र गरेका भरमा कोही पनि विद्वान हुँदैन । प्रज्ञा प्रतिष्ठान र शिक्षा मन्त्रालयले नेपाली भाषामा गरेको अतिक्रमणको विरोधमा म पनि अरू धेरै जनासित सक्रिय रहें, तर त्यो पनि ‘एक्टिभिजम मात्र थियो ।

अहिले पनि पत्रपत्रिकाले गरेका भाषिक गल्तीहरू औंल्याइरहन्छु । नेपालीमा अनावश्यक हिन्दी र अंग्रेजी प्रयोगको विरोध गर्छु । त्यो भाषाको रखवारीको काम हो । यी सबै मैले गर्नुपर्ने काम ठानेर, रोजेर नै गरेको हुँ । म कुनै विषयको विद् हुने प्राज्ञिक अध्ययन अनुसन्धानको बाटोतिर नलागी धेरै अघिदेखि मन लागेका चरनहरूमा मात्र पट्टा खेल्दै हिंडेको मान्छे हुँ ।

तपाईंलाई पनि कसैले पहिराइदिएको विद्को पगरी गह्रौं भएको छ ? कि न्यानो लागिरहेको छ ?

प्रतिकृया दिनुहोस