दाहाल, मोदी र सीबीच त्रिपक्षीय भेट
प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सि जिन पिङबीच त्रीपक्षीय भेट भएको छ ।
भारतको गोवामा आयोजित ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयका अनुसार दाहाल र सिबीच २० मिनेटको ‘वान टु वान’ वार्तापछि त्रिपक्षीय भेट भएको हो ।
भेटमा प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे स्मरण गराएका थिए ।
“नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ”, दाहाललाई उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, “हामी बिशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं । मैले भेटमा रणनीतिक साझेदारीबारे विषय महत्व दिएर कुरा राखें ।”
भारतका प्रधानमन्त्री र चीनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भनेको पनि उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री दाहालले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताए ।
भेटमा चीनियाँ राष्ट्रपति सिले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताएका थिए ।
सिले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको पनि बताएका थिए भने मोदीले पनि त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत सकारात्मक रहेको बताएका थिए ।