क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोल क्षमताको विषयमा सायदै कोही अपरिचित होलान। चालु विश्वकपमा ४ गोल गरिसकेका पोर्चुगाली कप्तानी गोल्डेन बुटको दाबेदार पनि मानिन्छन्। गोल्डेन बुटको दावेदारको रुपमा इङ्ल्यान्डका ह्यारी केन उनीभन्दा एक गोलले मात्र अगाडि छन्।
आज मध्यरातमा उरुग्वेविरूद्ध प्रि–क्वाटरफाइनलको दोस्रो खेल खेल्न पोर्चुगल मैदानमा उत्रिँदै छ। रोनाल्डोलाई उरुग्वेका पूर्व स्टार स्ट्राइकर डिएगो फोर्लानले पोर्चुगाली टिमको आधा हिस्सा भएको दावी गरिसकेको अवस्थामा उनी आजको खेलमा विपक्षी टोलीका लागि कति महत्वपूर्ण छन्, यसैले स्पष्ट पार्छ।
रोनाल्डो आज मैदानमा उत्रिँदै जर्मनी स्टार बास्टियन स्वेन्सटाइगरको विश्वकप र युरोजस्तो ठूलो प्रतियोगिता सर्वाधिक खेल्ने कीर्तिमान बराबरी गर्दैछन्। स्वेन्सटाइगरले ३८ खेल खेलेका थिए। रोनाल्डोले ३७ खेलेका छन्।
रोनाल्डोले नकआउट चरणमा अहिलेसम्म गोल गर्न सकेका छैनन्। तर, उनी आफ्नो देशका लिजेन्ड खेलाडी युसोबियोले विश्वकपमा बनाएको सर्वाधिक गोल गर्ने इतिहास उछिन्ने अभियानमा छन्। युसोबियोले विश्वकपमा कूल ९ गोल गरेका थिए। रोनाल्डोले ७ गोल गरिसकेका छन्।