एमालेको चियापान: ओली र देउवाको प्रश्नोत्तर
‘निर्वाचन समयमा हुन्छ त ?’ सञ्चारकर्मीले सोधेपछि एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवातिर देखाउँदै भने, ‘‘निर्वाचन त गर्नैपर्छ नि होइन र ? सरकारको के छ धारणा ?’’
देउवाले जवाफ दिए, ‘‘निर्वाचन हुन्छ, हुन्छ, हुन्छ । गर्ने, गर्ने गर्ने ।’’
त्यसपछि नेता र पत्रकारबीच हाँसोको फोहोरा छुट्यो । एमाले अध्यक्ष ओलीले संविधान संशोधनको प्रस्ताव आवश्यक छैन भनेर एमालेले नभनेको बरु त्यसको औचित्य खोजिरहेको बताउँदै सहमति गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
दशैं र तिहारका अवसरमा धूम्रबाराहीस्थित शङ्खपार्कमा आयोजना गरेको चियापान कार्यक्रममा नेताबीच शुभकामना आदानप्रदानसहित सामान्य घोचपेच पनि चल्यो ।
‘‘शुभकामना आदानप्रदानको समयमा राजनीतिक पक्ष विपक्षको भाषा बोल्न चाहान्न, सबै दल र पक्षलाई स्वागत भन्न चाहन्छु’’ एमाले अध्यक्ष ओली भने ।
"कांग्रेसलाई सुतेको बाघजस्तो दल भन्नुहुन्थ्यो त, नजिकै बस्दा डर लाग्या छैन," सञ्चारकर्मीको जिज्ञासा ।
‘‘जगाइराख्या छु,’’ ओली
"बाघलाई जगाउनु पनि खतरा होइन र ?" सञ्चारकर्मी
‘‘ कांग्रेसलाई अरु सानोतिनो किन भन्ने भनेर त्यसो भनेको नि,’’ ओली
चियापानमा मन्त्रीहरु, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तराई– मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेकपा मालेका महासचिव सिपी मैनानीलगायत नेता सहभागी थिए ।
कार्यक्रममा संवैधानिक निकायका पदाधिकारी, सांसद, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्यसचिवसहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, विभिन्न आयोग, समिति, संस्थान, बैंक तथा वित्तीय क्षेत्रका प्रमुख, अध्यक्ष तथा महाप्रबन्धक, सुरक्षा निकायका अधिकारी, पूर्वप्रशासक, लोकतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व, नागरिक समाजका अगुवा, उद्योगी–व्यवसायी, कलाकार, सञ्चारकर्मी, खेलाडी, विभिन्न पेसागत सङ्घसंस्थाका अगुवा तथा सबै पेसाकर्मीलगायत पार्टी कार्यकर्ताको खचाखच सहभागिता थियो ।
दिउँसो १२ देखि ३ बजेसम्म भएको चियापान कार्यक्रमको मूलढोकामा विभिन्न राष्ट्रिय वेषभूषामा सजिएका कलाकारले झाँकी प्रदर्शन गरेका थिए भने पाहुनालाई पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, पूर्व सभामुख सुवास नेम्वाङ, उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवालीलगायतले स्वागत गरेका थिए ।