पाउल पोग्बा (फ्रान्स)
सन् २०१४ को विश्वकपमा युवा खेलाडीको उपाधि जितेका फ्रेञ्च मिडफिल्डर पाउल पोग्बा प्रतिद्वन्दी गोल पोस्टमा आफ्ना साथीहरूलाई गोलका लागि बल मिलाउन मात्र होइन, गर्न पनि खप्पिस मानिन्छन्।
उनका आलोचक बेला–बेलामा उनी आफ्नो भूमिकाबाट विचलित हुने गरेको आरोप लगाउछन्। त्यसैले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले दुई वर्ष अगाडि उनलाई करिब १० करोड युरोमा भित्र्याउँदा उनलाई खर्चिएको रकमको विषयमा ठूलो अलोचना भएको थियो।
सन् २०१३ मा फ्रान्सले युथ–२० विश्वकप उपाधि जित्दा उनी टोलीका मुख्य हतियार थिए। उनीसँगै त्यतिबेला टिममा रहेका खेलाडीको अहिले फ्रेञ्च टोलीमा बाक्लो उपस्थिति छ।
पोग्बाले यो विश्वकपको समूह चरण खेलमा निकै राम्रो प्रदर्शन गरेका छन्। अस्ट्रेलियाविरूद्ध २–१ ले विजयी पहिलो खेलमा उनले दोस्रो गोल गरेका थिए। तर, बल अस्ट्रेलियाली डिफेन्डर बेहिचको खुट्टामा ठोक्किएको थियो। त्यसैले ‘भार’ को रिभ्यूपछि पोग्बाले हानेको गोललाई आत्मघाती ठहर गरियो। २५ वर्षीय मिडफिल्डरले फ्रान्सबाट ५६ अन्तर्राष्ट्रिय फुटबल खेलिसकेका छन्।