तस्वीरमा गोरखा भूकम्प
१२ बैशाख २०७२ को महाभूकम्पको विनाशलीला र त्यसबाट सिक्नुपर्ने पाठ भएका तस्वीरहरुको संगालो ‘तस्वीरमा गोरखा भुकम्प २०७२’ प्रकाशित भएको छ ।
चित्र पुस्तकमा भुकम्पविद् डा. दिपक चौलागाईं र फोटो पत्रकार लक्ष्मीप्रसाद ङाखुसीले खिचेका १३२ वटा तस्वीरहरु संग्रहित छन् ।
पृथ्वीको गर्भमा रहेका सक्रिय प्लेटहरु टकराउँदा पैदा हुने ताकत जम्मा भई बाहिरिने क्रममा भू—तलमा झ्टकाको महशुस गरिन्छ ।
१२ बैशाख २०७२ मध्याह्न गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाई त्यस्तो ताकत ७.८ म्याग्निच्यूडमा बाहिरिएको थियो, जसले करिब ९ हजारको ज्यान लियो ।
अर्बौंको धनमाल क्षति भयो । भूकम्पले तहसनहस पारेका मध्य नेपालका दश जिल्लाको जनजीवन अझै राम्रोसँग तङ्ग्रिन सकेको छैन ।
चित्र पुस्तकमा गोरखा भुकम्पलाई गतिशिल पृथ्वी, भुकम्पको उत्पती, गोरखा भुकम्प, क्षति तथा नोक्सानी, भुकम्प पछिको प्रतिकार्य र जनजीवन, भग्नावशेषबाट २२ घण्टापछि उद्धार गरिएका भक्तपुरका ४ महिने शिशु सोनिश अवालको कथा र निष्कर्ष समेत ९ खण्डमा समेटिएको छ ।
गोरखा भूकम्पले मुलुकको सामाजिक अर्थ राजनीतिमा समेत बेग्लै प्रभाव राख्यो ।
हतार हतारमा आपत्कालीन ब्यवस्थापन सम्बन्धी केहि निर्णयहरु गरिए, नीति बनाइयो । तर अझै पनि भूगोल र धरातलको अध्ययन्मा राज्यको ध्यान अपेक्षा गरिए अनुसार पुगेको छैन ।
पुस्तकमा भूकम्पको पुनर्निर्माणमा भइरहेको ढिलाई खोतल्दै भूगोल र भौगर्भिक अवस्था अनुकुल निर्माणमा ध्यान दिन जरुरी रहेको तथ्य सिकाएको उल्लेख छ ।
आपत्कालीन ब्यवस्थापन भनेको एउटा वयस्कले अर्काे वयस्कलाई खासगरी खान्कीको सहायता गर्नु हो भन्ने अहिलेसम्मको बुझाईले पुस्तकका एकजना परिकल्पनाकार डा. चौलागाईंलाई अलिक बढि पिरोलेको छ ।
समग्रमा जोखिम सम्वेदनशिलताको चाँडो मूल्यांकन गरी पीडितको सामाजिक अवस्था र आवश्यकता अनुसार राहत कार्यमा जुट्न तयार जनशक्ति उत्पादनमा समेत जोड दिइएको छ ।
नेपालमा सन् १२५५ को भूकम्प (जुन भूकम्पमा राजा अभय मल्लाको समेत निधन भएको थियो) देखि यता गएका भूकम्पहरुको बारेमा तथ्यगत जानकारी राखिएको छ । भूकम्प, भूगर्भ भित्रको गतिशिलता, भूकम्पले अर्थ राजनीति तथा सामाजीक जीवनमा पार्ने प्रभाव, विपद् ब्यवस्थापन लगायतका विषयमा रुची राख्नेहरुका लागि उपयोगी देखिन्छ ।
-गोपाल गडतौला