माईखोला डुङ्गा दुर्घटनाः मृतकको संख्या ८ पुग्यो
इलामको माईखोलामा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । तीन जनाको शव २९ असोज दिउसो भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी उपरीक्षक सुशील यादवका अनुसार डुङ्गा दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये चार जनाको सनाखत भएको छ । मृत्यु हुनेहरुमा मोरङको मधुमल्ला–२ की ६ वर्षीया पुष्पा खड्का, इलामको महामाई–१ का जस बहादुर राई, डम्मर माया रानामगर र झापाको सनिअर्जुन नपाका कृष्ण कुमार घतानी रहेका छन् । कृष्णको शव झापाको शिव साहनी नजिक भेटिएको छ ।
२८ असोज दिउसो इलामको दानाबारीबाट महामाईतर्फ आउदै गर्दा डुङ्गा दुर्घटना भएको थियो । दुर्घटनामा ३४ जनाको उद्धार गरिएको थियो । डुङ्गामा कति जना सवार थिए भन्ने एकिन हुन सकेको छैन । अझै केही हराएको हुन सक्ने प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा बिहानैदेखि खोजिमा जुटेका छन् ।
लक्ष्मी मिश्र, इलाम