सेपाकताक्रोमा नेपाललाई ३ रजत र १ कास्य
काठमाडौं (हिमाल)– नेपालले तेश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा ३ रजत र १ कास्य पदक जितेको छ। नेपाल सेपाकताक्रो संघद्वारा आयोजित प्रतियोगिताको पुरुष–महिला रेगु तथा महिला डबल्स स्पर्धामा आइतबार नेपालले रजत पदक जित्न सफल भएको थियो। पुरुष क्वाडमा नेपालले कास्यमा चित्त बुझायो। समग्रमा नेपाल दोश्रो भयो।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको पुरुष क्वाडमा नेपालले श्रीलंकालाई २१–१० र २१–१७ ले पराजित गर्यो। नेपाल भारतसँग ५–२१ र २०–२२ तथा बंगलादेशसँग १८–२१, २१–१७ र १४–२१ ले पराजित भयो। भारत पहिलो र बंगलादेश दोश्रो भए। श्रीलंकाले नेपालसँगै तेश्रो स्थानमा चित्त बुझायो। नेपालबाट रुपेश सुनार, सुजन डंगोल, रोशन तामाङ, रविन भट्टराईलगायतले प्रतिस्पर्धा गरेका थिए।
महिला डबल्समा नेपालले श्रीलंकालाई २१–१३ र २१–९ तथा बंगालदेशलाई २१–१२ र २१–११ ले पाखा लगायो। भारतविरुद्ध खेलमा भने नेपाल २२–२४ र १९–२१ ले चुकेपछि रजतमा सीमित भयो। भारत पहिलो भयो। सोममाया थापा मगर, सुमित्रा डंगोल र चन्द्रा चौधरीले नेपालको प्रतिनिधित्व गरेका थिए।
प्रतियोगितामा पुरुष क्वाड, पुरुष–महिला रेगु र महिला डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। त्यसमा भारत सबै स्पर्धामा स्वर्ण हात पार्दै समग्रमा पहिलो भयो। बंगलादेशले १ रजत र ३ कास्य प्राप्त गर्यो भने श्रीलंका ४ कास्यमा सीमित भयो।
शुक्रबारदेखि सुरु राउन्ड रोविन लिग प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्र सहभागी थिए। पहिलो संस्करण पनि नेपालमै भएको थियो। दोश्रो संस्करण श्रीलंकाले आयोजना गरेको थियो।