दश खेलाडीमा सिमित जर्मनीलाई क्रुसले उकासे, कोरिया बाहिरिनबाट जोगियो
काठमाडौं (एजेन्सी)– विश्व विजेता जर्मनीले विश्वकपमा उत्कृष्ट पुनरागमन गरेको छ। समूह ‘एफ’ अन्तर्गत शनिवार राती भएको खेलमा १० खेलाडीमा सिमित भएर पनि जर्मनी खेलमा फर्किएको हो। उसले स्विडेनलाई २–१ गोलले पराजित गर्यो।
८२ मिनेटमा डिफेन्डर जेरोम बोएटिङ दोहोरो पहेँलो कार्डका कारण टिमबाट बाहिरिसकेको अवस्थामा टोनी क्रुसले निर्धारित समय सकिएपछि थप गरिएको ५ मिनेटमा गोल गर्दै विश्वकपमा जर्मनीको आशा जिवित राखे। उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। बोएटिङ विश्वकपमा रातो कार्ड पाउने जर्मनीका सातौं खेलाडी हुन्।
पहिलो हाफको ३२ मिनेटमा ओला टोइभोनको गोलले पछाडि परेको जर्मनीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो। दोस्रो हाफमा आफ्नो एक खेलाडी गुमाएर पनि डिफेन्डिङ च्याम्पियन दुई गोल फर्काउन सफल भयो।
जर्मनीको जितमा मार्को रयस र क्रुज नायक सावित भए। रयसले ४८ मिनेटमा र क्रुसले निर्धारित समयपछि गोल गरे। यो जितपछि पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजय भोगेको जर्मनीले दोस्रो चरण प्रवेशको आशालाई जिवित राखेको छ।
मेक्सिको समूहको अघिल्लो दुई खेल जितेर प्रतियोगिताको अघिल्लो चरण प्रवेश गरिसकेको छ। जर्मनीको जितले एसियाली राष्ट्र दक्षिण कोरियाको पनि दोस्रो चरण प्रवेशको सम्भावना जिवित नै बन्न पुगेको छ।
कोरियाले दुई खेल हारेपनि समूह ‘एफ’ मा जर्मनी र स्विडेनको ३–३ अंक भएका कारण एसियाको बलियो राष्ट्र अंकगणितिय रुपमा बाहिरिसकेको छैन्। जर्मनीले अन्तिम खेल कोरियासँग खेल्ने छ। यस्तै स्विडेनले यो समूहबाट दोस्रो चरणमा प्रवेश गरिसकेको मेक्सिकोसँग खेल्ने छ। स्विडेन अघिल्लो खेलमा मेक्सिकोसँग पराजित भएको खण्डमा र कोरियाले जर्मनीलाई राम्रो गोलअन्तरले पराजित गरेको खण्डमा मात्र एसियाको ‘रेड डेभिल्स’ विश्वकपको दोस्रो चरण प्रवेश गर्नेछ।