हर्नान्डेजको ५० गोल, दक्षिण कोरियाको भाग्य जर्मनीको हातमा
रुस (एजेन्सी)– एसियाली राष्ट्र दक्षिण कोरिया विश्वकपको पहिलो चरणबाट बाहिरिने सम्भावना प्रबल बनेको छ। शनिवार समूह ‘एफ’ को दोस्रो चरणको खेलमा मेक्सिकोसँग २–१ ले पराजित भएपछि कोरिया प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको हो। आजै पौने १२ बजे हुने खेलमा जर्मनीले स्विडेनलाई पराजित गरेको खण्डमा कोरियाको सम्भावना अन्तिम खेलसम्म रहनेछ। जर्मनी पराजित अथवा बराबरी भएको खण्डमा पनि कोरिया प्रतियोगिताबाट बाहिरिने छ।
त्यसैले कोरियाले अब हुने समूहको दोस्रो खेलमा जर्मनीको विजयको कामना गर्नु पर्नेछ।
यो समूहमा लगातार दुई खेल जितेको मेक्सिको अंकगणितिय रुपमा दोस्रो चरण प्रवेश नगरेपनि उसको सम्भावना बलियो बनेको छ। विश्व विजेता जर्मनीलाई पहिलो खेलमै १–० ले स्तब्ध पारेको मेक्सिकोले कोरियाविरूद्ध पहिलो गोल पेनाल्टी र दोस्रो गोल हाभियर हर्नान्डेजको सहयोगले गरेको थियो।
खेलको २६ मिनेटमा कार्लोस भेलाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए, जब आन्द्रेस गुइडार्डोले डिबक्स भित्र ‘चिप’ गरेको बल एफसी टोकियोका डिफेन्डर जाग हवान–सूको हातमा लाग्न पुग्यो। ‘भार’ को निर्णयपछि मेक्सिकोले यो विश्वकपको चौधौं ‘स्पट किक’ को रुपमा पेनाल्टीको अवसर पायो।
दोस्रो गोल हर्नान्डेजले ६६ मिनेटमा गरे। यो उनको अन्तर्राष्ट्रिय फुटबलमा ५० गोलको कोसेढुंगा थियो। उनी मेक्सिकोबाट ५० गोल गर्ने पहिलो खेलाडी बन्न पुगेका छन्। कोरियाविरूद्ध मेक्सिको जितसँगै विश्व विजेता जर्मनी थप दबाबमा परेको छ। कोरियाका लागि ९३ मिनेटमा सन मुङ–मिनले गोल गरेका थिए। उनले डिबक्स बाहिरबाट गोल गरेका थिए। सन् १९८६ को विश्वकपदेखि कोरियाले १४ गोल डिबक्स बाहिरबाट गरेको छ। डिबक्स बाहिरबाट गोल गर्ने सूचीमा कोरियाभन्दा अगाडि ब्राजिल र जर्मनी छन्। ब्राजिलले विश्वकपमा १६ गोल र जर्मनीले १५ गोल डिबक्स बाहिरबाट गरेका छन्।