लुकाकुले सम्झाए म्याराडोनालाई, बेल्जियम दोस्रो चरणमा
रुस (एजेन्सी)– इङ्लिस प्रिमियर लिगका दुई स्टार खेलाडी इडेन हजार्ड र रोमेलु लुकाकु उत्कृष्ट प्रदर्शनसँगै बेल्जियम विश्वकपको समूह ‘जी’ बाट दोस्रो चरणमा प्रवेश गरेको छ। प्रिमियर लिगका दुवै खेलाडीले ट्युनिसियाविरूद्ध २–२ गोल गरेको यस खेलमा बेल्जियमले समूह चरणमा विपक्षीविरूद्ध ५ गोल गर्यो। यसपालिको विश्वकप समूह चरणमा रुसपछि विपक्षी टोलीविरूद्ध सर्वाधिक गोल गरेको बेल्जियम दोस्रो टोली हो। रुसले विश्वकपको पहिलो खेलमा साउदी अरबलाई ५–० ले पराजित गरेको थियो।
सुरुदेखि नै खेलमा प्रभाव जमाएको युरोपेली महाशक्ति बेल्जियमले कप्तान हजार्डको पेनाल्टीमा ६ मिनेटमा पहिलो गोलको अग्रता लिएको थियो। खेलको पाँच मिनेटमा ट्निसियाका स्याम बेन युसुफका कारण बेल्जियमले पेनाल्टी अवसर पाएको थियो। हेजार्डले ५१ मिनेटमा पनि अर्को गोल थपेका थिए।
बेल्जियमले लुकाकुको दुई गोलको सहयोगले पहिलो हाफमै ३–१ को अग्रता लिएको थियो। म्यानचेस्टर युनाइटेडका यी स्ट्राइकरले १६ र पहिलो हाफपछि थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए। लुकाकुको यो विश्वकपमा चौथो गोल हो। उनले पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई खेलमा गरेको चार गोलको अग्रतालाई बराबरी गरेका छन्। उनी बेल्जियमबाट विश्वकप र युरो कप जस्तो महत्वपूर्ण प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि बन्न पुगेका छन्। उनले यसअघि बेल्जियमका जान कलेमनले ठूलो प्रतियोगितामा सर्वाधिक ६ गोल गरेको इतिहासलाई पछाडि छोडेका हुन्। लुकाकुको ठूलो प्रतियोगितामा गोल संख्या ७ पुगेको छ।
लुकाकुले विश्वकपको लगातार दुई खेलमा दुवैमा दुई गोल गरेको अर्जेन्टिनी महान खेलाडी डिएगो म्यारोडोनाको कीर्तिमानलाई पनि बराबरी गरेका छन्। म्याराडोनाले १९८६ को विश्वकपमा इङ्ल्यान्ड र बेल्जियमविरूद्ध लगातार दुई खेलमा २–२ गोल गरेका थिए।
बेल्जियमका लागि पाँचौ गोल अतिरिक्त खेलाडीको रुपमा प्रवेश गरेका मिची बात्सुआयीले ९० मिनेटमा गरे। बेल्जियमविरूद्ध पराजयसँगै ट्निसिया विश्वकपबाट बाहिरिसकेको छ। उसका लागि डाइलन ब्रोननले १८ मिनेटमा गोल गरेका थिए। अर्को गोल निर्धारित ९० पछि थप गरिएको तेस्रो मिनेटमा वाहवी खाज्रीले गरे। ट्युनिसयाको प्रतियोगितामा यो लगातार दोस्रो पराजय थियो।