टिप्पणीशनिवार, आषाढ ९, २०७५

भाषा: आवश्यकता र क्षमता पनि

मनिष झा

कुनै भाषाको प्रयोगलाई राजनीतिक रूपमा मात्र नभई आ–आफ्नो क्षमता विकाससँग पनि जोडेर हेर्नुपर्छ ।

गएको दशकको हरेक वर्ष चिनियाँ पर्यटक र लगानीकर्ता नेपाल आउने क्रम बढिरहेको छ, दक्षिणतिर फर्किएको हाम्रो अर्थतन्त्र अब उत्तरतिर पनि मोडिएर आर्थिक सहकार्य गर्न सक्षम हुँदैछ । क्षमता भनेको आर्थिक र भौगोलिक मात्र हुँदैन ।

संस्कार, सामाजिकता र भाषा पनि क्षमताको प्रमुख पक्ष हो । चीनसँग व्यापार र चिनियाँ पर्यटकको लागि तयार हुने क्रममा नेपालीहरूमा चिनियाँ भाषा जान्नुपर्छ भन्ने चेतनाले ठाउँ लियो र धेरै जना भाषा क्षमता बढाउनतिर लागे ।

अहिले काठमाडाैको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइड लगायतका पर्यटक क्षेत्रतिर चिनियाँ बोल्ने र चिनियाँ भाषामा खानाको मेनु राख्नेहरू मनग्गे देखिन थालेका छन् । त्यति मात्र होइन, ब्यांकको एटीएममा पनि चिनियाँ भाषा देखिन थालेको छ । 

भारतमा हिन्दी र पाकिस्तानमा उर्दू भाषा बोल्ने भन्दा नबोल्नेको संख्या बढी छ । २० प्रतिशत मात्र उर्दूभाषी जनता रहेको पाकिस्तानको संविधानमा अझै पनि यो भाषा प्रबद्र्धन गरिने लेखिएको छ । भारतमा हिन्दी नजान्नुलाई ठूलो कमजोरीको रूपमा लिइँदैन । एचडी देवेगौडाले भारतको ११औं प्रधानमन्त्री (कार्यकाल २०५३ जेठ–२०५४ वैशाख) भएपछि मात्र हिन्दी बोलेका/सिकेका थिए ।

२०६८ सालको जनगणना अनुसार नेपालमा १२३ भाषा बोलिन्छ । त्यही बखतको जनसंख्या हेर्ने हो भने सरदर २ लाख १५ हजार जनाले एउटा भाषा बोल्छन् । राजधानी काठमाडौंमै पनि कति भाषा बोलिन्छ, सबै बुझ्न सकिन्न तर यहाँ जीवनयापनको लागि नेपाली बुझ्न र बोल्न आवश्यक छ । भाषा क्षमता हो र क्षमता सक्षम जीवनयापनको लागि आवश्यक हुन्छ । आफ्नो कुरा सूक्ष्म तवरले व्यक्त गर्न सक्नु पनि एक सरल जीवनयापन र भावनात्मक सबलता पनि हो ।

मेरो बुवा औसत नेपाली भन्दा बढी शुद्ध र राम्रो नेपाली बोल्नुहुन्छ । उहाँको उच्चारण कुनै एक समुदायको परिधिभित्र छैन । हामी प्रायः पाउँछौं कि कुनै मधेशी, नेवार, जनजाति वा सुदूरपश्चिमेलीले नेपाली बोल्दा उसकै सामुदायिक लवज सुनिएन भने त्यसलाई पनि एक अतिरिक्त क्षमताको रूपमा लिइन्छ । भन्ने पनि गरिन्छ कि– “वाह्, तपाईं त गज्जबले नेपाली बोल्नु हुँदोरहेछ !” मैले यसो भनेको पटक–पटक सुनेको छु ।

अघिल्लो साता बुवासँग यस्तै–यस्तै कुरामा गफगाफ हुँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको प्रसंग आइहाल्यो । प्रम मोदीको अभिनन्दन समारोहमा प्रदेश–२ का मुख्यमन्त्रीले बोलेको हिन्दीमा पूर्ण रूपमा बिहारी लवज थियो । हिन्दी अरू थुप्रै भाषा जस्तै निकै सुललित भाषा हो ।

भारतीय सिनेमा क्षेत्रका अमिताभ बच्चन, गुलजार, अनुपम खेर वा जावेद अख्तरले बोल्ने/लेख्ने हिन्दी निकै राम्रो सुनिन्छ ! त्यही हिन्दी यता हाम्रा राजनीतिज्ञहरूले बोल्दा राम्रो सुनेको पाएको छैन । अतिथि प्रधानमन्त्रीलाई अभिनन्दन गर्ने क्रममा हावी भएको बिहारी–हिन्दीबाट म असन्तुष्ट थिएँ, अव्यक्त क्रोध पनि थियो । मैले त्यो कुरा बुवासँग गरें पनि ।

उहाँले पनि सहमति जनाउनुभयो । उहाँले जनकपुर लगायत तराई–मधेशमा हिन्दी भाषाको अस्तित्व र चलनबारे आफ्नो धारणा पनि सुनाउनुभयो । उहाँका अनुसार, जनकपुरको आर्थिक अस्तित्व भारतसँग जोडिएको छ । त्यहाँका व्यापारीहरू भारत गएर सामान ल्याउँछन् र बजारमा बेच्छन् । चिनियाँ सामान चाहिं काठमाडौं वा चीनबाटै ल्याउँछन् र जनकपुर आउने भारतीय पर्यटकलाई बेच्छन् । यस्तो आर्थिक कारोबार गर्नको लागि हिन्दी आवश्यक क्षमता हो ।

आगामी दिनमा आर्थिक क्रियाकलापका लागि चिनियाँ भाषाको महत्व बारे व्यवस्थापन परामर्शदाता अनिल चित्रकारले बताउँदा मैले पूर्ण सहमति जनाएको थिएँ । त्यो एक दशक पहिलेको कुरा थियो । हिन्दीको हकमा त यो कुरा दशकौं पहिले नै तराई–मधेशमा लागू भइसकेको रहेछ ।

चीनसँगको आर्थिक सम्बन्धसँगै चिनियाँ भाषाको प्रयोग/प्रभाव बढ्नेमा अब कुनै संशय रहेन । त्यसलाई हामीले कसरी व्याख्या गर्नेछौं, समयको गर्भमा छ । भाषालाई राजनीतिक रूपमा आ–आफ्नो रूपले व्याख्या गरिए पनि यसको सम्बन्ध क्षमता र संस्कारसँग छ । त्यो सबैको सम्बन्ध हाम्रो क्षमता विकास र अस्तित्वसँग छ ।

प्रतिकृया दिनुहोस