विश्व विजेता जर्मनीको विश्वकप अभियान स्विडेनको खेलमा निर्भर
काठमाडौं (एजेन्सी)– विश्वकप विजय अभियानमा रहेको डिफेन्डिङ च्याम्पियन जर्मनीको अगाडि सवैभन्दा ठूलो तगारोको रुपमा युरोपको अर्को बलियो टोली स्विडेन रहेको छ। समूह ‘एफ’ अन्तर्गत आज राती पौने १२ बजे हुने खेलमा स्विडेनसँग पराजय भागेको खण्डमा डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकपको पहिलो चरणबाटै बाहिरिने छ।
त्यसैले जोचिम लोउको टोलीले विश्वकप अभियानलाई जिवित राख्न स्विडेनलाई जितबाट रोक्नै पर्ने बाध्यता छ। विश्वकपमा जर्मनीको तुलनामा स्विडेनको उपस्थिति त्यति बलियो छैन्। तर, यसपालि दक्षिण कोरियालाई पहिलो खेलमा १–० ले पराजित गरेको स्विडेन बलियो स्थितिमा छ भने मेक्सिकोसँग १–० को पराजय भोगेको जर्मनी केही दबाबमा देखिन्छ।
जर्मनी र स्विडेनबीच पछिल्लो समय दुई खेल भएको थियो, जसमा १६ गोल सम्भव भएको थियो। सन् २०१२ मा भएको खेलमा दुवै टोलीले ४–४ गोलको बराबरीमा खेल राखेका थिए। तर, २०१४ को विश्वकप छनोटका लागि भएको खेलमा स्विडेन आफ्नै घरेलु मैदानमा ५–३ ले पराजित भएको थियो।
जर्मनी र स्विडेनबीच विश्वकपमा चार पल्ट भिडन्त भइसकेको छ। यसमा जर्मनीले १९३४, १९७४ र २००६ मा स्विडेनलाई पराजित गरेको थियो। १९५८ मा विश्वकपको आयोजना गर्दा एकपल्ट स्विडेनले जर्मनीलाई पराजित गरेको हो।
आजको खेलमा जर्मनी प्रशिक्षक लोउले टिममा फेरबदल गर्न सक्ने सम्भावना प्रबल छ। पहिलो खेलमा बेञ्चमा बसेका बुरुसिया डर्टमुन्डका फरवाड मार्को रेउसलाई सुरुमै खेलाउने सम्भावना बलियो छ। यस्तै, स्विडेनले पनि म्यानचेस्टर युनाइटेडका डिफेन्डर भिक्टोर लिन्डेलोफलाई आज मैदानमा उतार्ने छ। उनी विरामी भएका कारण कोरियाविरुद्धको खेलमा उत्रिन पाएका थिएनन्।