काउटिन्हो र नेइमारको गोलपछि ब्राजिल विश्वकपमा फर्कियो
काठमाडौ (एजेन्सी)– पाँच पल्टको विश्व च्याम्पियन ब्राजिलले पहिलो खेल बराबरीमा रोकिएपनि उत्कृष्ट पुनरागमन गरेको छ। शुक्रबार कोस्टारिकाविरुद्ध समूह चरणको दोस्रो खेलमा फिलिप काउटिन्हो र नेइमारले गोल गरेपछि ब्राजिल २–० गोलले खेलमा फर्किएको हो।
निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकेको कोस्टारिकाले त्यसपछि दुई गोल खाएको थियो। ब्राजिलका लागि ९१ मिनेटमा काउटिन्होले पहिलो गोल गरेका थिए। अर्को गोल फ्रेन्च क्लब पिएसजीका स्टार स्ट्राइकर नेइमारले ९७ मिनेटमा गरे। घुँडाको चोटका कारण राम्रोसँग अभ्यास पनि गर्न नसकेका नेइमारको गोलपछि ब्राजिली समर्थकले खुसी व्यक्त गरे।
समूह ‘इ’ मा ब्राजिलले चार अंक बटुलेको छ। यसअघि पहिलो खेलमा ब्राजिल स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरीमा रोकिएको थियो।