१७ वर्षपछि सर्वियाली प्रशिक्षक स्विसविरूद्ध मैदानमा उत्रिदै
काठमाडौं (एजेन्सी)– सन् २००१ मा बासेलमा भएको मैत्रिपूर्ण खेलमा तत्कालिन युगोस्लाभियाले निकै बलियो मानिएको स्विस टोलीलाई २–१ गोलले पराजित गर्यो। त्यतिबेला लगभग बराबरीमा रहेको खेलको नतिजा उल्ट्याउँदै डिफेन्डर म्लादेन क्रिस्टाजिकले गोल गरेका थिए।
१७ वर्षपछि क्रिस्टाजिक सर्वियाको टोलीमा समावेश हुँदै पुनः स्विट्जरल्यान्डविरूद्ध आज मैदानमा उत्रिदै छन्। तर, यसपालि उनी डिफेन्डरको भूमिकामा नभई प्रशिक्षकको भूमिकामा हुनेछन्। युगोस्लाभियाबाट छुट्टिएर पहिले सर्विया एन्ड मोन्टेनेग्रो, त्यसपछि सर्वियाली टोलीबाट अन्तर्राष्ट्रिय फुटबल खेलेका क्रिस्टाजिकलाई गत वर्ष मात्र चिट्ठा परेको थियो, जब खेलाडीबीचको बेमेलले गर्दा पूर्व प्रशिक्षक स्लाबोलजुब मुस्लिनलाई सर्वियाली फुटबल संघले बर्खास्त गर्यो।
सन् २००६ मा सर्विया एन्ड मोन्टेनेग्रोलाई पहिलो पल्ट विश्वकपमा समावेश गराउन उनको भूमिका महत्वपूर्ण थियो। उनीलगायत अन्य तीन डिफेन्डरले त्यतिबेला विश्वकप छनोटमा १ गोल मात्र खाएका थिए। त्यसैले उनी ‘फेमस फोर’ को रुपमा अहिले पनि सर्वियाली फुटबलमा चर्चित छन्।
देशभित्र निकै राम्रो छवी बनाएका यिनै प्रशिक्षकको नेतृत्वमा अहिले सर्विया विश्वकपको ऐतिहासिक उपलब्धि नजिक छ। यो विश्वकपको समूह ‘इ’ मा रहेको सर्वियाले पहिलो खेलमा कोस्टारिकालाई १–० ले पराजित गर्दै तीन अंक बटुलिसकेको छ। आज स्विट्जरल्यान्डसँग जित हात पारेको खण्डमा बाल्कन क्षेत्रको यो देश पहिलो पल्ट विश्वकपको दोस्रो चरणमा प्रवेश गर्नेछ।
सन् २००६ मा सर्विया एन्ड मोन्टेनेग्रोबाट स्वतन्त्र भएपछि सर्वियाले २०१० मा पहिलो विश्वकप खेलेको थियो। गत विश्वकपमा छनोट हुन नसकेपनि यसपालि उसले प्रभावशाली प्रदर्शन गर्दै आइरहेको छ। सर्विया राजनीतिक रुपले मात्र होइन, फुटबल मैदानमा पनि क्रोएसियाको कट्टर प्रतिद्वन्दी हो। विहिबार राती अर्जेन्टिनालाई ३–० ले पराजित गर्ने क्रममा क्रोएसिया विश्वकपको दोस्रो चरण प्रवेश गरिसकेको छ। त्यसैले आजको खेलमा आफ्नो फुटबल प्रतिद्वन्दी क्रोएसियाको पथ पछ्याउँदै सर्वियाले पनि नचिताएको नतिजा निकाल्ने आशा यस देशका समर्थकले गरेका छन्।
तर, गत अक्टुवरदेखि उत्कृष्ट प्रदर्शन गरिरहेको स्विट्जरल्यान्डलाई पराजित गर्नु सर्वियाका लागि फलामको चिउरा चपाए सरह हुनेछ । गत वर्ष पोर्चुगलसँग २–० को पराजय भोगेयता स्विट्जरल्यान्ड २२ खेलमा अपराजित छ। उसले यसअवघिमा १६ जित र ६ खेललाई बराबरी राखेको छ। चौथो विश्वकप खेलिरहेका भालोन बेहरामीजस्ता अनुभवी खेलाडी समावेश स्विस टोलीमा साकिरी, डेनिस जाकारिया, स्टेभन जुबेर, ग्रानिट जाका, मिचेल लाङ जस्ता प्रतिभाशाली खेलाडी समावेश छन्। फेरि स्विट्जरल्यान्डले समूहको पहिलो खेलमा उपाधिको दावेदार ब्राजिललाई १–१ गोलमा रोकिसकेका छ। ब्राजिलविरूद्ध जुबेरले गोल गरेका थिए।
त्यसैले सर्वियाली प्रशिक्षक क्रिस्टाजिकले नेपाली समयअनुसार आज पौने १२ बजेदेखि सुरु हुने खेल कडा हुने बताएका छन्। ‘हामी स्विस टिमको बारेमा अनभिज्ञ छैनौ,’ उनले खेल सुरु हुनुअघि भनेका छन्। सर्वियाली टोलीमा क्रिस्टल प्यालेसका डिफेन्सिभ मिडफिल्डर लुका मिलिभोजेभिक उपलब्ध हुनेछन्। उनी पहिलो खेलमा टोलीमा समावेश थिएनन्। यस्तै, कोस्टारिकाविरूद्ध गोल गरेका कप्तान एलेक्जेन्डर कोलारोभसँगै जर्मनी क्लब ह्यामवर्गका विङ्गर फिलिप कोस्टिकले पनि मौका पाउने सम्भावना छ। म्यानचेस्टर युनाइटेडका नेमान्जा माटिक सर्विया टिमका ‘हट केक’ मानिन्छन्।