पेरुको इतिहास कोर्ने अभियानमा लोरिस बन्लान तगारो?
काठमाडौं (एजेन्सी)– चालिस वर्षयता कुनै दक्षिण अमेरिकी राष्ट्रसँग पराजय नभोगेको फ्रान्स आफ्नो सशक्त इतिहास दोहर्याउन लालायित छ। विश्वकपअन्तर्गत आज राती पानै ९ बजे फ्रान्सको भिडन्त समूह ‘सी’ मा अर्को दक्षिण अमेरिकी राष्ट्र पेरुसँग हुँदैछ।
समूह चरणको पहिलो खेलमा अस्ट्रेलियालाई २–१ ले हराइसकेको अवस्थामा फ्रान्सको विश्वकप अभियान यसपालि निकै बलियो मानिएको छ। पेरु भने पहिलो खेलमा डेनमार्कसँग १–० ले पराजित भएको थियो। आजको खेलमा फ्रान्स विजयी भए समूह चरणको एक खेल खेल्न बाँकी रहँदै प्रिक्वाटर फाइनलमा प्रवेश गर्नेछ। पेरुका लागि पराजय प्रतियोगिताबाट बाहिरिने कारण बन्ने छ।
त्यसैले फ्रान्सविरूद्धको खेललाई आफ्नो पक्षमा पार्न पेरुले सवै हतियार प्रयोग गर्नेछ। यो कुरा राम्रोसँग बुझेका फ्रेन्च प्रशिक्षक डिडिएर डेस्च्यापले खेलमा कुनै गल्तीको गुन्जाइस नभएको बताएका छन्। फ्रेन्च पत्रिकाले छापेको समाचारलाई सत्य ठान्ने हो भने आजको खेलमा डेस्च्यापले तीन खतरनाक खेलाडी एमबापे, ग्रेजमन, डिम्बेलेलाई एकै पल्ट मैदानमा उतार्ने सम्भावना बलियो छ।
फ्रेन्च कप्तान ह्युगो लोरिसका लागि आज विशेष दिन हो। उनी सयौं क्यापका लागि मैदानमा उत्रिदै छन्। टोटेनहामका यी गोलकिपरले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो सफलताले आफूलाई गर्वान्वित तुल्याएको बताएका छन्। ‘म सधै उत्कृष्ट प्रदर्शनका लागि प्रयासरत रहने गर्छु,’ लोरिसले भन्छन्।
फ्रान्स र पेरु यो विश्वकपको यस्ता टिम हुन्, जो सन् १९३० को पहिलो विश्वकपमा पनि समावेश थिए। फ्रान्स र पेरुले एकपल्ट मात्र मैत्रिपूर्ण खेल खेलेका छन्। सन् १९८२ को विश्वकपका लागि खेलिएको मैत्रिपूर्ण खेलमा पेरु १–० ले विजयी भएको थियो।
सन् १९७८ को विश्वकपमा आयोजक अर्जेन्टिनासँग समूह चरणको खेलमा २–१ ले पराजित भएयता फ्रान्सले ४ पल्ट दक्षिण अमेरिकी राष्ट्रसँग खेलिसकेको छ र यी सवैमा ‘लेस ब्लुज’ अपराजित छ। पेरु भने पछिल्लो ७ वटा विश्वकपमध्ये कुनै खेलमा विजयी हुन सकेको छैन। उसले पछिल्लो पल्ट इरानलाई १९७८ मा ४–१ ले पराजित गरेयता कुनै खेलमा जित हात पारेको छैन्। अझ, १९८२ को विश्वकपमा गुइलेर्मो ला रोसाले पोल्यान्डविरूद्ध ५–१ ले पराजित खेलमा गोल गरेयता पेरुका कुनै खेलाडीले गोल गर्न सकेका छैनन्।
पेरुका प्रशिक्षक रिकार्डो गारेका फ्रान्सलाई विश्वकप जित्ने टोलीको संज्ञा दिन्छन्। तर, उनी फ्रान्सका लागि आफूहरू कडा प्रतिस्पर्धी भएको बताउन भुल्दैनन्। उनी इकाटेरिनबर्गमा आज हुने खेलका लागि आफूहरूले विशेष तयारी गरेको बताउँछन्। ‘हाम्रो आफ्नै शैली छ, फुटबल खेल्ने’, उनी भन्छन्। फ्रान्सका कोरेन्टिन टोलिसो र पेरुका रेनाटो टापियाले अघिल्लो खेलमा पहिलो कार्ड पाइसकेको अवस्थामा आज उनीहरूका लागि संयमित भएर खेल्नु पर्ने बाध्यता छ।