विश्वकप रोचक कहानीः जसलाई प्रायोजकको जर्सी लगाउन प्रतिबन्ध छ
रुस (एजेन्सी)– मेक्सिकोले गत साता इतिहास बनायो, विश्व विजेता जर्मनीलाई समूह ‘एफ’ अन्तर्गत पहिलो खेलमा पराजित गरेर। रुसमा जारी विश्वकपको सबैभन्दा कठिन समूहमा रहेको मेक्सिकोको यो सफलतासँगै उसको दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनेको छ। यही खेलको अन्तिम १७ मिनेटमा मैदान प्रवेश गर्ने क्रममा मेक्सिकोका राफा मार्केजले इतिहास बनाएका थिए। उनी आफ्ना अग्रज लोथार माथेस, जियानलुइगी बुफोन र आन्टोनिओ ‘ला टोटा’ कार्बाजलजस्तै पाँचवटा विश्वकप खेल्ने खेलाडीको सूचीमा यतिबेला दरिएका छन्।
वास्तवमा यो कुनै पनि खेलाडीको लागि अविस्मरणीय क्षण हो। तर, ३९ वर्षीय यी खेलाडी यतिबेला मैदानभित्र मात्र होइन, मैदान बाहिर पनि ऐतिहासिक क्षणको आनन्द लिन सकिरहेका छैनन्।
यसको कारण हो, मेक्सिकोका लागुऔषध कारोबारी राहुल फ्लोरेस हर्नान्डेजसँग उनको सम्बन्ध। यही सम्बन्धको आधारमा अमेरिकी सरकारले लागुऔषध कारोबारीको हैसियतमा बार्सिलोना र मोनाकोका यी पूर्व खेलाडीलाई पनि कालो सूचीमा राखेको छ र अमेरिका प्रवेशमा रोक लगाएको छ। अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले मार्केज आफै लागुऔषधको ठूलो कारोबारी भएको दावी गर्दै आइरहेको छ।
तर, मार्केजले अमेरिकी दावी अस्विकार गर्दे आइरहेका छन्। आजको दिनसम्म पनि उनी र उनको टोली अमेरिकी दावीमा सत्यता नभएको प्रष्ट पार्न संघर्षरत छ।
अहिले मार्केज राष्ट्रिय टोलीमा अटाउन त सफल भएका छन् तर उनले थुप्रै सर्तको सामना गर्नु परिरहेको छ। अमेरिकी सरकारले कालो सूचीमा राखेका कारण उनले विश्वकपलाई प्रायोजन गरिरहेको अमेरिकी कम्पनीको कुनै ‘ब्रान्ड’ का सामान प्रयोग गर्न पाइरहेका छैनन्। यसको पछिल्लो उदाहरण हो, मेक्सिकोको अभ्यास सत्र। रुसमा मेक्सिको ऐतिहासिक सफलताका लागि अभ्यासरत रहँदा टोलीका अन्य खेलाडी अमेरिकी कम्पनी कोकाकोलाले प्रायोजन गरेको टिसर्ट पहिरिएर मैदानमा उत्रिने गरेका छन्। तर, मार्केज साधा पहिरनमा अभ्यास गर्न विवश छन्।
न्युयोर्क टाइम्सले जनाएअनुसार ‘डिहाइर्डेसन’ बाट जोगिन कोकाकोला कम्पनीले उत्पादन गरेको ‘आइसोटोनिक ड्रिक’ अहिले मेक्सिकोका सबै खेलाडीले प्रयोग गरिरहेका छन्, मार्केज बाहेक। उनलाई त्यो ‘ड्रिक’ पनि उपभोग गर्न बञ्चित गरिएको छ।
जर्मनीविरूद्ध १७ मिनेट मैदानमा उभिदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए। तर, उनले त्यो खेलमा मात्र होइन, बाँकी खेलमा पनि उत्कृष्ट खेलाडीको अवार्ड पाउने सम्भावना न्युन छ। किनभने यो विधाको अवार्डलाई अमेरिकी बियर कम्पनी बडवाइजरले प्रायोजन गरेको छ। र, अमेरिकी सरकारले अपराधिक मुद्धामा जोडिएका कुनै पनि खेलाडीको प्रचार–प्रसार गर्न रोक लगाएको छ।
जर्मनीविरूद्ध ऐतिहासिक जितपछि धेरै मिडियाकर्मी उनको अन्तर्वार्ता मैदानमै लिन इच्छुक थिए। तर, विश्वकप प्रायोजक भिसा, कोकाकोला, बडवाइजर र म्याकडोनाल्ड कम्पनीको लोगो पछाडि भएको कारण फिफाले अन्तर्वार्तामा रोक लगायो। फिफाले मार्केजलाई विश्वकपमा प्रायोजन गर्ने अमेरिकी कम्पनीको लोगोभन्दा बाहिर मात्र अन्तर्वार्ता गर्न स्विकृति दिएको छ।
यो विश्वकपमा उनले पत्रकारसमक्ष आफ्नो विचार राख्न चाहेको खण्डमा अन्य देशका भाषा विशेषज्ञको मात्र सहयोग लिन सक्छन, अमेरिकी नागरिकलाई छोडेर।