आज दुई एशियाली राष्ट्र इरान र साउदीको अग्नि-परीक्षा
काठमाडौं– विश्वकप समूह चरणअन्तर्गत आज दुई एसियाली देशको अग्नी–परीक्षा हुँदैछ। समूह ‘ए’ को दोस्रो राउन्डको खेलमा साउदी अरबले जहाँ राती पौने नौ बजे दक्षिण अमेरिकी राष्ट्र उरुग्वेसँग खेल्दै छ, समूह ‘बी’ को अर्को खेलमा पौने १२ बजे राती इरान २०१० को विश्व विजेता स्पेनविरूद्ध उत्रिँदै छ।
साउदीले आफ्नो पहिलो खेल आयोजक रुससँग ५–० ले गुमाएको छ। इरानले भने अफ्रिकी राष्ट्र मोरक्कोलाई १–० ले पराजित गर्ने क्रममा यसपालिको विश्वकपमा सकारात्मक सुरुवात गरेको छ। तर, समूह ‘बी’ मा उसले स्पेन र पोर्चुगलजस्ता बलिया टोलीसँग खेल्नु पर्ने भएका कारण इरानका लागि दोस्रो चरण प्रवेश पाउनु सोचे जस्तो सहज छैन्। स्पेनले आफ्नो पहिलो खेलमा युरो कप विजेता पोर्चुगलसँग ३–३ गोलको बराबरी गर्दै अंक बाँडेको थियो। इरान र स्पेनबीच हालसम्म कुनै खेल भएको छैन्।
इरानले युरोपका अन्य देशविरूद्ध विश्वकपमा खेलेको ६ खेलमध्ये कुनैमा जित हात पारेको छैन। त्यसैले स्पेनी टोली एसियाली प्रतिद्वन्दीलाई पराजित गर्न लालायित देखिन्छ। तर, इरानी प्रशिक्षक कार्लोस क्युरेज पहिलो खेलको जितपछि उत्साही देखिन्छन्। र, स्पेनलाई आफूसँग खेल्न त्यति सहज नहुने तर्क गर्छन्।
सन् २००४ मा स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षक रहिसकेका क्युरेजले स्पेनी खेलाडीको तागत र कमजोरीलाई राम्रोसँग बुझेका छन्। उनले भर्खरै दिएको अन्तर्वार्तामा भनेका छन्, ‘स्पेनविरूद्ध हामी नयाँ योजना अनुसार उत्रिने छौं।’
सन् २०१० को विश्वकपमा क्युरेज पोर्चुगाली टिमका प्रशिक्षक थिए। त्यतिबेला स्पेनसँग १–० ले पराजित भएपछि उनको जागिर खोसिएको थियो। तर, पछिल्लो तीन विश्वकपमध्ये दुईमा पहिलो चरणबाटै बाहिरिएको स्पेनको पुरानो इतिहास राम्रोसँग बुझेका क्युरेज यसपालि छुट्टै इतिहास कोर्न लालायित देखिन्छन।
उनको अगाडि आज पनि डिएगो कोस्टा प्रमुख चुनौती बन्ने कुरालाई नकार्न सकिन्न । किनभने कोस्टा अहिले उत्कृष्ट लयमा छन्। उनले पछिल्लो आठ अन्तर्राष्ट्रिय खेलमा आठ गोल गरिसकेका छन्। पोर्चुगलविरूद्ध विश्वकपको पहिलो खेलमा पनि उनले दुई गोल गरेका थिए।
इरानको तुलनामा समूह ‘ए’ मा साउदीको इतिहास उरुग्वेभन्दा केही बलियो देखिन्छ। तर, लुइस सुआरेज, इडिन्सन काभानी र डिएगो गोडिनजस्ता खतरनाक खेलाडीको अगाडि टिक्न साउदीले आज आविस्मरणीय खेल खेल्नु पर्ने पक्का छ। साउदी र उरुग्वेले यसअघि दुईवटा मैत्रिपूर्ण खेल खेलेका थिए। सन् २००२ मा भएको मैत्रिपूर्ण खेलमा साउदी ३–२ गोलले विजयी भएको थियो। २०१४ मा भने उरुग्वेले १–१ गोलको बराबरीमा साउदीलाई रोकेको थियो।
साउदीले हालसम्म विश्वकपको १५ खेल खेलिसकेको छ तर दक्षिण अमेरिकी राष्ट्रसँग उसको पहिलो भिडन्त हो। इरानले विश्वकपको पछिल्लो १० मध्ये आठ खेलमा विपक्षी टोलीविरूद्ध कुनै गोल गरेको छैन्। सन् १९९४ देखि विश्वकपमा समावेश साउदीले यसबीच १४ गोल खाएको छ।
आज मैदानमा उत्रिएको खण्डमा लुइस सुआरेजको सयौं अन्तर्राष्ट्रिय खेल हुनेछ। सन् २००६ देखि उरुग्वेलाई सम्हालेका प्रशिक्षक ओस्कार टाबारेज टोलीका दुई अनुभवी खेलाडी ३३ वर्षीय कार्लोस सान्चेज र क्रिस्टियन रोड्रिग्रेजलाई सुरुमै उतार्ने तयारीमा छन्। आज मैदानमा उत्रिएको खण्डमा रोड्रिग्रेजको पनि अन्तर्राष्ट्रिय खेल संख्या १ सय ७ पुग्ने छ।