सलाहले जोगाउन सकेनन् इजिप्टलाई, रुस दोस्रो चरणतिर
रुस (एजेन्सी)– फुटबलको विश्व वरियतामा ७० औं स्थानमा रहेका कारण निकै आलोचना भोगेको आयोजक रुस विश्वकपको दोस्रो चरणमा प्रवेश गर्ने पहिलो टिम बन्ने अभियानमा अगाडि बढेको छ। इजिप्टविरूद्ध मंगलबार राती भएको खेलमा उसले मोहम्मद सलाहको टोलीलाई ३–१ गोलले पराजित गर्यो।
चोटका कारण उरुग्वेविरूद्ध पहिलो खेल गुमाएका सलाह रुसविरूद्धको खेलमा उपस्थित थिए। तर, उनले ७३ मिनेटमा पेनाल्टीबाट गोल गर्ने बाहेक आफ्नो टिमलाई उकास्न सकेनन्। इजिप्टले पहिलो हाफमा आयोजक राष्ट्रलाई गोलरहित बराबरीमा रोकेको थियो। तर, दोस्रो हाफको ४७ मिनेटमा हमद फातीका कारण आत्मघाती गोल खान पुगेपछि खेलले अर्के मोड लियो।
५९ मिनेटमा डेनिस चेरिसेभले अर्को गोल थपे। उनको यो प्रतियोगितामा तेस्रो गोल हो। उनले पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको गोललाई बराबरी गरेका छन्। रोनाल्डोले स्पेनविरूद्ध पहिलो खेलमै ह्याट्रिक गरेका थिए।
रुसका लागि तेस्रो गोल आप्टेम डेजेबाले ६२ मिनेटमा गरे। रुसले १९६६ पछि विश्वकपमा लगातार दुई खेल जितेको हो। उसले दुई खेलमा आठ गोल गर्दै सन् १९३४ को विश्वकपमा इटालीले विपक्षी टोलीविरूद्ध हानेको गोल संख्यालाई बराबरी गरेको छ। रुसले पहिलो खेलमा साउदी अरबलाई ५–० ले पराजित गरेको थियो। उसले २००२ र २०१४ को पछिल्लो दुई विश्वकपमा विपक्षीविरूद्ध कूल ६ गोल मात्र गरेको थियो।