ब्लगशनिवार, आषाढ २, २०७५

राजा झुक्किंदा भयो चुनाव

भैरव रिसाल

सल्लाहकारहरूले सही सूचना संकलन गर्न सकेको भए २०१५ सालमा राजा महेन्द्रले न चुनाव गराउँथे न नेपाली कांग्रेसले जित्थ्यो ।

विश्वेश्वरप्रसाद कोइराला रौसीरौसी भन्दैथिए, “सिमरामा ओर्लेपछि तातो जुल्फी (जिलेबी) खानुपर्छ, केटाकेटीले पापा खाएजस्तै ।” यो रमाइलो हो, २० असोज २०१४ सालको । सिमरा भएर वीरगञ्ज जान लागेका हामी त्रिभुवन विमानस्थलमा थियौं । 

नेपालमा ६ महीनाभित्रै आम निर्वाचन होस् भनी माग गरिरहेको प्रजातान्त्रिक मोर्चाले त्यसका लागि के कस्ता कार्यक्रम बनाउने भन्ने तय गर्न मोर्चा आवद्ध तीन वटा पार्टीका तर्फबाट वीरगञ्जमा भेला आयोजना गरिएको थियो ।

कार्यक्रम स्थल थियो, रेल्वे स्टेसनसँग टाँसिएको हिमालय होटल । त्यो जमानामा वीरगञ्जमा त्यो तहको खाने, बस्ने, मिटिङ गर्ने सुविधा भएको होटल वा ठाउँ अर्को थिएन ।

नेपाली कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजापरिषद् (भद्रकाली मिश्र) को प्रजातान्त्रिक मोर्चा बनेको थियो २०१४ साउन १४ गते काठमाडौंमा । त्यतिबेला म ‘हालखबर’ दैनिकमा मासिक तलब पाउने रिपोर्टर थिएँ ।

त्यो भेलाको रिपोर्टिङ गर्न हिंडेको म र ‘नयाँ समाज’ दैनिकका गोपालराज राजभण्डारी संयोगले बीपीसँग एउटै प्लेनमा परेछौं । उनी आफ्नो पक्षमा लेखोस् कि विपक्षमा, ‘पत्रकार’ भने पछि ‘पत्रकार’ नै हो भनेर इज्जत गर्ने साँच्चै प्रजातान्त्रिक नेता । ‘हालखबर’ झुक्किएर पनि नेपाली कांग्रेसको पक्षमा लेख्दैनथ्यो ।

कांग्रेसले चाहे अनुसार निर्णय

त्यसबेला एउटा सरकारी हवाई कम्पनी मात्र थियो नेपालमा । सिमरामा हप्तामा दुई वा तीन उडान हुन्थ्यो होला । सिमरा ओर्लिनासाथ बीपीले हामी सबैलाई जुल्फी पाकिरहेको छाप्रोतिर लगे ।

प्लेन आउने भएपछि त्यहाँ जुल्फी पकाउँदा रहेछन् । हामी सबैले तातो जुल्फी खायौं । सबैको पैसा बीपीका मान्छेले तिरे । हामी दुवै पत्रकार समेतलाई आफू जाने मोटरमै चढाएर वीरगञ्ज लगे बीपीले । गोपालजी र म पनि त्यही होटलको दुई शैय्या भएको एउटा कोठामा बस्यौं ।

भोलिपल्टबाट मोर्चाको सम्मेलन प्रारम्भ भो । अरू दुई पार्टीका नेता डा. डिल्लीरमण रेग्मी र भद्रकाली मिश्र आएनन् । प्रजापरिषद् पार्टीबाट कोही पनि आएका थिएनन् । प्रजापरिषद् फुटेर दुइटा भैसकेका थिए । टंकप्रसाद आचार्य त्यसको विपक्षमा थिए ।

चुनाव गराउन नसक्ने भनी उनको प्रधानमन्त्रीत्वको सरकार बर्खास्त भएको धेरै भएको थिएन । यी सबै कारणले वीरगञ्ज अनुष्ठानमा नेपाली कांग्रेसले बाजी मार्‍यो । कांग्रेसबाट भने सभापति बीपीका अतिरिक्त महामन्त्रीद्वय डा. तुलसी गिरी, विश्ववन्धु थापा र श्रीभद्र शर्मा लगायतका नेताहरु सक्रिय थिए ।

सम्मेलनले प्रथम आम निर्वाचनको मिति तोकाउन २२ मंसीर २०१४ बाट काठमाडौंमा ‘भद्र अवज्ञा आन्दोलन’ थाल्ने निर्णय गर्‍यो । नेपाली कांग्रेस जे चाहन्थ्यो त्यही प्रस्ताव पास भएको थियो ।

पानीको फोहोरा र धरपकड
२२ मंसीरका दिन विश्वेश्वरप्रसाद कोइराला, डा. डिल्लीरमण रेग्मी, भद्रकाली मिश्र लगायत तीन वटै पार्टीका शीर्ष नेताहरू सिंहदरबार प्रवेश मार्ग भद्रकाली पूर्वको गौंडो, सिंहदरबार पस्ने पश्चिम ढोकाका दुवैतर्फ, सर्वोच्च अदालतको प्रवेशद्वार र डिल्लीबजार चारखाल अड्डाको ढोका अगाडि बाटोमा लम्पसार परे, ताकि मन्त्री, न्यायाधीश र कर्मचारीहरू कार्यालय जान नसकुन् ।

अवज्ञामा नेपाल कम्युनिष्ट पार्टीले पनि भाग लियो । त्यसबेला नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी थियो ।

भद्रकालीपूर्वको धर्नामा बसेका नेताहरूलाई नाघेर एक–दुई कर्मचारी भित्र गए । त्यसरी नाघेर गएको आफ्नै आँखाले देखेर ‘हालखबर’ मा रिपोर्टिङ गरें । कति न्यायाधीश, सचिव र कर्मचारी बिहानै कार्यालय छिरिसकेछन् ।

सरकारले दिउँसो बारुणयन्त्र ल्याएर पानीको फोहोरा हानेर आन्दोलनकारीलाई धपायो । अन्य ठाउँबाट भने धेरै भद्र अवज्ञार्थी पक्राउ परे । आखिरमा राजा महेन्द्रले ७ फागुन २०१५ बाट आम निर्वाचन गर्ने घोषणा गरे । भद्र अवज्ञा आन्दोलनले आम निर्वाचनको तिथि घोषणा गराएरै छोड्यो ।

राजा झुक्किएकाले चुनाव
त्यति बेलासम्म पनि निर्वाचन संविधानसभा कि संसदका लागि भन्ने निरुपण भएको थिएन । प्रधानमन्त्री भएको बेला टंकप्रसाद आचार्यले ‘संविधानसभा कि संसद ?’ टुङ्गो भएको छैन भन्ने भाषण दिएपछि विश्वेश्वरप्रसाद कोइरालाले ‘पदमा बसेर त्यसो भन्न पाइँदैन’ भनेका थिए ।

उनले ‘सात साल फागुन ७ गतेको राजाको घोषणामा निर्वाचन विधान (संविधान) सभाका लागि भन्ने स्पष्ट उल्लेख छ’ भनी सर्वोच्च अदालतमा मुद्दा पनि हाले । तर अदालतले ‘उक्त शाही घोषणा संविधान होइन, अपरिवर्तनीय पनि होइन’ भन्दै बीपीलाई हरायो ।

राजा महेन्द्रले १ फागुन २०१५ मा जारी गरेको नेपाल अधिराज्यको संविधानले पनि संविधानसभाको कुरै उठाएन । अन्ततः ७ फागुन २०१५ बाट निर्वाचन शुरू भएर २१ वैशाख २०१६ सम्म मतदान र २७ गते अन्तिम मतगणना सम्पन्न भयो ।

नेपाली कांग्रेसले बढी जिते २०–२५ ठाउँमा जित्छ, त्यति जितेर के तात्पर्य भो र ? भन्ने रिपोर्ट गरेछन् राजा महेन्द्रलाई । त्यसमा ढुक्क भएर महेन्द्र चुनाव गर्न राजी भए, तर मतदान सकिनासाथ मतगणना र परिणाम प्रकाशित गर्ने प्रणाली अपनाएकोले कांग्रेसले ७४ स्थानमा विजय माला लगायो । कांग्रेसले त्यति धेरै जित्छ भन्ने लागेको भए राजा महेन्द्र के गर्थे चुनाव !

प्रतिकृया दिनुहोस